
नवलपरासी, भदौ २२ । बिक्रीका लागि तयार भएका केरा धमाधम खेतमा झरेर कुहिन थालेपछि पश्चिम नवलपरासीका केरा किसानहरु चिन्तित हुन थालेका छन् ।
कोराना संक्रमणका कारण भएको बन्दाबन्दीले पाकी सकेका केरा बिक्री हुन नसक्दा बैंकबाट ऋण लिएर खेती गर्दै आएका किसानहरु चिन्तित हुन थालेका हुन् ।
पश्चिम नवलपरासीको प्रतापपुर र सुस्ता गाउँपालिका केराखेतीका लागि पकेट क्षेत्रका रुपमा चिनिन्छन् । दुई गाउँपालिकामा मात्र दुई हजार किसानले २५ सय बढी बिघामा केरा खेती गरेका छन् ।
भारतीय केरा र बन्दाबन्दीका कारण खेतमा तयार भएका करिब दुई अर्ब बराबरको केरा नष्ट हुन थालेको नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खुप्रसाद यादवले जानकारी दिनुभयो ।
यहाँका किसानले सरकारबाट अनुदानको आश गरेका छैनन् । बजारीकरण गरिदिन माग गरेका छन् ।
बजारीकरण र सहजरुपमा बिक्रीको व्यवस्था गर्न नसके सरकारले क्षतिपूर्ति दिनुपर्ने किसानहरुको माग छ ।
जिल्लाको दक्षिण भेग उखुखेतीका लागि प्रख्यात छ । तर, उद्योगहरुले विभिन्न बहानामा समयमा रकम दिन छाडेपछि किसानहरु उखुखेती छाडेर केराखेतीतर्फ लागेका हुन् ।
केराखेतीमा लाग्दासमेत सरकारले समयमा मलखाद उपलब्ध गराउन नसक्नु र भारतीय केरालाई सहजै भित्र्याउन दिनुले आफूहरु मारमा परेको किसानहरुको गुनासो छ ।
यहाँ उत्पादिन केरा काठमाडौं, पोखरा, धादिङलगायतका सहरहरुमा पठाउने गरिएको छ ।
जिल्लाबाट अन्यन्त्र पठाउँदा कोरोनाको कारण देखाउँदै लैजान नदिएपछि उत्पादित केरा खेतमै झरेर कुहिन थालेको किसानको गुनासो छ । जसका कारण बैंकको ऋणसमेत तिर्न नसक्दा समस्या भएको उनीहरुको भनाइ छ ।
एकपटक लगाएको केरा १५ महिनामा तयार हुन्छ । एक बिघा खेतीमा खर्च कटाएर दुईदेखि तीन लाख रुपैयाँ वार्षिक आम्दानी हुने गरेका कारण पनि किसानहरु उखु छाडेर केराखेतीमा लागेका हुन् ।
तर, उखु मासेर केरा लगाएका किसानहरु केराले पनि बजार पाउन नसकेपछि आजित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्