
काठमाडौं, भदौ २३ । तीव्रगतिमा बढिरहेको सहरीकरणले काठमाडौं उपत्यकामा खेतीयोग्य जमिनको हिस्सा कम हुँदै गएको छ ।
उत्पादनका हिसाबले उर्भर भूमि मानिने उपत्यका अहिले कंक्रिटका घरहरुले भरिएको छ ।
तर, ऊर्जाशील किसानहरुले यही कंक्रिटको राजधानीमा घरको छत र कौसीमा फलफूल र तरकारी उत्पादन गरेर राम्रो आम्दानी गरिरहेका छन् ।
पछिल्लो समय कोरोनाभाइरसले आक्रान्त बनाएको काठमाडौं उपत्यकामा किसानहरु घरको छतमा तरकारी र फलफूल उत्पादन गरेर लाखौं आम्दानी गरिरहेका छन् ।
बढ्दो सहरीकरण र जनसंख्याका कारण उब्जाउ हुने खेतीयोग्य जमिन पाउनै मुस्किल पर्ने उपत्यकामा अहिले किसानहरु घरको छतमै फलफूल र तरकारी खेती गरेर लाखौं आम्दानी गरिरहेका हुन् ।
केही समयअघिसम्म आफ्नो आवश्यकताअनुसार घरको छतमा तरकारी फलाउँदै आएका किसाहरु अहिले छतमै ड्रयागन फ्रुट फलाइरहेका छन् ।
ड्रयागन फ्रुटको खेतीबाट कोरोनाका कारण बेरोजगार बनेका युवाहरुलाई राहत दिनेमात्रै नभएर खाद्यन्न संकट, भोकमरी र अनिकाललाई न्यूनीकरण गर्न सकिने ड्रयागन फ्रुट व्यवसायी वासुदेव ढकालले बताउनुभयो ।
खेतीयोग्य जमिन मासिँदै गएपनि उपत्यकाका घरका ५० प्रतिशत छतहरुमा मात्रै ड्रागन फ्रुटको खेती गर्न सकिए १५ अर्ब बढीको उत्पादन हुने उहाँले बताउनुभयो ।
रोपेको एक वर्षपछि उत्पादन सुरु हुने ड्रागन फ्रुट स्याउ, सुन्तला, आँप कटहरु खेतीभन्दा सहज र बजारीकरणका लागि सरल हुने उहाँको भनाइ छ ।
वर्षेनि ठूलो मात्रामा बाहिरबाट आयात भइरहेको यस फलको खेती विस्तारका लागि सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत् केही सम्बोधन गर्न खोजेको उहाँले बताउनुभयो ।
नेपाल राष्ट्र बैंकलेसमेत मौद्रिक नीतिमार्फत् विशेषगरी कृषि क्षेत्र र ड्रयागन फ्रुटको खेती प्रवर्द्धनका लागि कार्यक्रमहरु ल्याएर सहयोग गरेको उहाँले बताउनुभयो ।
कोभिड-१९ ले सामाजिक-आर्थिक जीवनलाई आक्रान्त पारेको छ । काठमाडौं उपत्यकामा पनि दिनदिनै संक्रमितको संख्या बढ्दो छ । लाखौंले रोजगारी गुमाएका छन् ।
यस्तो अवस्थामा घरको छतमा थोरै लगानीमा समेत गर्न सकिने ड्रागन फ्रुटको खेतीले स्वरोजगार बन्न मद्दत गर्छ ।
साथै, वर्षेनि विदेशबाट हुने गरेको आयातलाई निरुत्साहित गर्दै आफ्नो उत्पादन विस्तार गरी देशको आर्थिक वृद्धिमा समेत टेवा पुर्याउन सकिने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्