२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आहा ! मनमोहक साङ्जेन भ्याली


0
Shares

रसुवा, भदौ २३ । रसुवाको साङ्जेन भ्याली पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ ।

हिमालको काख र विभिन्न शैलुङहरुको काखमा अवस्थित यसको सौन्दर्यता अलग्गै छ । तर, रमणीयस्थल हुँदाहुँदै पनि यो भ्याली पर्यटकीय गन्तव्य भने अझै बन्न सकेको छैन ।

रसुवामा चौरी चराउने र डुलाउनेको दोहोरीलत्त छ, यतिखेर । हिमालको फेदीमा चौरी, भेडा र बाख्रा चराउनुको मज्जा पनि बिछट्टकै छ ।

चौरी चराउँदै गर्दा र डुलाउँदै गर्दा कतिखेर माया बस्छ, पत्तो हुँदैन यहाँ । हिमालको फेदीमा ढकमक्क फूलेका राताम्मे फूलले सबैलाई मोहितमात्र बनाउँदैन, चुल्ठोमा सिउरीऊँ–सिउरीऊँझैं बनाउँछ ।

रसुवा प्राकृतिकरुपले सुन्दरमात्र छैन, साँस्कृतिकरुपलेसमेत उत्तिकै धनी छ । हिमालको काखमा भएकाले पनि रसुवको यस्तो मनमोहक सौन्दर्यतामा नलठ्ठिने को होला र ?

लाङटाङ, गणेश हिमाल, गोसाइकुण्ड अनि तामाङ सम्पदामार्ग जिल्लाकोमात्र हैन, देशकै गहनाको रुपमा रहेको छ ।

आमाछोदिङ गाउँपालिकामा अवस्थित पर्यटकीय ठाउँमा हिमालमात्र हैन, सेतो, कालो, नीलो रङका कुण्डहरु टल्किरहेको देख्न सकिन्छ । चौरमा बसेर शैलुङ्गे गीत गाउनुको त झन् छुट्टै मज्जा छ ।

मुर्चुङ्गा बजाएर यस्तो रमणीय ठाउँमा हिँड्नुको रोमञ्चकता बिछट्टकै छ । गाउँपालिकालेसमेत यसभित्र रहेको यस्तो सौन्दर्यमा निखार ल्याउन र नयाँ पर्यटन गन्तव्य पदमार्गको पहिचानको लागि काम थालिसकेको छ ।

उनीहरुलेसमेत यसको पर्यटन प्रवर्द्धन गराउनका लागि साङ्जेन भ्यालीमै बैठक र भेलासमेत गरेका छन् ।

गणेश हिमाल र सान्जेन हिमालनजिकैबाट नियाल्न सकिने तथा साङ्जेन हिमालसँगै रहेको पाल्दोर पिक हिमालसमेत चढ्नसक्ने यहाँको विशेषता हो ।

यसैगरी, चार हजार ७२० मिटरको उचाइमा रहेको डिल्पु कुण्ड र अन्य दुईओटा आकर्षक कुण्डसहित उच्च स्थानमा चरणका लागि पठार तथा घाँसे मैदान पर्यटकहरुका लागि थप आकर्षक गन्तव्य हुन् ।

पर्यटकीय क्षेत्रको रुपमा साङ्जेन भ्यालीलाई विस्तार गर्नसके पूरै गाउँपालिकाकोमात्र नभइ रसुवा र छिमेकी जिल्लाकोसमेत मुहार फेरिने थियो ।

त्यसैलेपनि यस्ता क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नसके यसको सौन्दर्यमा निखारमात्र आउने नभइ सबै पर्यटकको आकर्षणको केन्द्रबिन्दुसमेत बन्ने थियो ।