१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पर्यटन उद्योगलाई पुनर्जीवन दिन कार्यदल


0
Shares

काठमाडौं, भदौ २३ । कोभिड–१९ महामारीका कारण नराम्ररी थलिएको मुलुकको पर्यटन उद्योगलाई पुनर्जीवन दिन नेपाल पर्यटन बोर्डले ‘टुरिज्म रिभाइभल टास्कफोर्स’ गठन गरी कार्य प्रारम्भ गरिएको जनाएको छ ।

सरकारको प्राथमिकता तथा निजी क्षेत्रको चाहना एवं बाध्यताका बीचमा थप समन्वय र सहकार्यको खाँचो देखिएकाले बोर्डले पर्यटनको ‘सर्भाइभल’ र ‘रिभाइभल’को योजना अगाडि ल्याएको हो ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)लगायत पर्यटन क्षेत्रका प्रतिष्ठित संघ संस्था एवं अग्रज पर्यटन व्यवसायीसमेतलाई सल्लाहकारको रुपमा समेटी बोर्डका कार्यकारी प्रमुखको संरक्षकत्वमा कार्यदल बनाइएको बोर्डले जनाएको छ ।

महामारीका कारण थलिएको पर्यटन उद्योगलाई पुनर्जीवन दिन समग्र पर्यटन क्षेत्रका संस्था तथा अगुवा व्यवसायीलाई एउटै छातामुनि ल्याएर पुनःरुत्थानको कामलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यदल बनाइएको बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार पर्यटन पुनःरुत्थानका लागि बोर्डले केही अगुवा पर्यटकीय संस्थाको प्रतिनिधित्व रहनेगरी अहिलेसम्म गरिआएको कामलाई जिम्मेवारी दायित्व बोध हुनेगरी बृहत् कार्यदल बनाइएको हो । बोर्डले तीन महिनाअघि कार्यदल बनाएको थियो ।

सीमित संख्याको प्रतिनिधित्व रहेको कार्यदललाई व्यापक बनाइ आगामी दिनमा पर्यटन क्षेत्रले गर्नुपर्ने कामको अन्तिम निष्कर्ष निकाल्ने गरी कार्यदलले काम गर्ने कार्यकारी प्रमुख डा. रेग्मीले बताउनुभयो ।

कार्यदलले वर्तमान अवस्थामा थलिएको पर्यटन उद्योगलाई कसरी पुनर्जीवन दिने भनी अन्तर्राष्ट्रिय अभ्याससमेतको अध्ययन गरी आफ्ना सुझाव दिनेछ । सोअनुसार सम्पूर्ण व्यवसायीलाई एकीकृत गरी सरकारलाई आगामी रणनीति निर्माण गर्न सहयोग पुर्‍याउने जनाइएको छ ।

उक्त कार्यदलले तत्काल पर्यटनका गतिविधिलाई सुरक्षित ढंगले कसरी अगाडि बढाउन सकिन्छ भन्ने पनि अध्ययन गर्नुका साथै निराश हुँदै गएका व्यवसायी तथा मजदुरलाई के-कस्तो आर्थिक कार्यक्रम ल्याउन सकिन्छ भन्ने मार्ग पहिल्याउन सहयोग गर्नेछ ।

यस कार्यका निम्ति सम्पूर्ण पर्यटन क्षेत्रका व्यवसायी तथा सरोकारवालालाई सक्रिय भइ सहयोग गर्नसमेत बोर्डले हार्दिक अपिल गरेको छ ।

देशको विदेशी मुद्रा आर्जनको भरपर्दो स्रोत एवं रोजगारी सिर्जना तथा सिंगो मुलुकको अर्थतन्त्रको भविष्यको बलियो आधारको रुपमा स्थापित हुँदै गरेको पर्यटन क्षेत्र यो महामारीको सबैभन्दा ठूलो सिकार बन्न पुगेको बोर्डले उल्लेख गरेको छ ।