
काठमाडौं, भदौ २३ । सरकारको व्यवस्थापकीय कमजोरीका कारण कोरोनाभाइरस संक्रमणको जोखिम बढ्दै गएको सरोकारवालाहरुले बताएका छन् ।
प्रयोगशालाको व्यवस्थापन, अतिआवश्यक स्वास्थ्य सामग्रीको गुणस्तर मापन र सरकारी विधि-विधानका कारण संक्रमणको जोखिम बढ्दै गएको सरोकारवालाहरुको भनाइ छ ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्पराज खनालले प्रयोगशाला स्थापना भएपछि ल्याबको गुणस्तर जाँचमा सरकारले ध्यान नदिएको गुनासो गर्नुभयो ।
कुनै एक प्रयोगशालामा ‘रिपोर्ट पोजिटिभ’ आउने र अर्को प्रयोगशालामा सोही स्वाब परीक्षण गर्दा रिपोर्ट ‘नेगेटिभ’ आउने समस्या पनि गुणस्तर मापनकै कारण देखिएको उहाँको भनाइ छ ।
सरकारले सही व्यवस्थापन गर्नसके आज स्वाब संकलन गरी भोलि नै रिपोर्ट दिने सकिने अवस्था रहेको उहाँले बताउनुभयो ।
सरकारी निकायहरुमा विज्ञहरुका कुरा नसुन्ने समस्याले व्यवस्थापनमा चुनौती हुने उहाँले बताउनुभयो ।
नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले कोरोना महामारी सुरु भएको लामो समय बितिसक्दा पनि नेपाल सरकारले आवश्यक स्वास्थ्य सामग्रीको गुणस्तर मापनका लागि कुनै संयन्त्र बनाउन नसकेको बताउनुभयो ।
बजेट र जनशक्ति पर्याप्त हुँदा-हुँदै पनि अहिले प्रयोग भइरहेका स्वास्थ्य सामग्रीहरुको गुणस्तर मापनका लागि सरकारको ध्यान जान नसकेको उहाँले बताउनुभयो ।
सरकारले उत्पादित जनशक्ति व्यवस्थापनभन्दा पनि उनीहरुलाई स्वयंसेवीरुपमा काम लगाउने नीति अघि सारेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।
नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष गोमादेवी निरौलाले दैनिक १२ घन्टासम्म बिरामीको हेरचाहमा खटिने नर्सहरुको सुरक्षाको विषयमा राज्यले ध्यान दिन नसकेको बताउनुभयो ।
मंगलबार प्रतिनिधिसभाअन्तर्गत्को शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिको छलफलमा सरोकारवालहरुले पीपीईको उचित व्यवस्थापन, गुणस्तरीय स्वास्थ्य सामग्रीको व्यवस्थापन र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई उत्प्रेरणा नभए सबैतिर जनशक्ति अभाव हुनसक्नेतर्फ सरकार सचेत हुनुपर्ने बताएका हुन् ।
उपसमिति संयोजक जीवनराम श्रेष्ठले छलफलमा उठेका विषयहरुमा सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्