६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


नाकामा कडाइ गरी निषेधाज्ञालाई खुकुलो पार्नुपर्ने काठमाडौं मेयर फोरमको निष्कर्ष


0
Shares

kathmandu

काठमाडौं, भदौ २३ । काठमाडौं उपत्यका नगरपालिका मेयर फोरमले उपत्यकाका सबै नाकामा कडाइ गरी निषेधाज्ञालाई खुकुलो पार्दै जानुपर्ने बताएको छ ।

मेयर फोरमको मंगलबार बसेको बैठकले काठमाडौं उपत्यकाका सबै नाकामा कडाइ गर्न नेपाली सेना परिचालन गरी उपत्यकाभित्रको निषेधाज्ञालाई विस्तारै खोल्नुपर्ने निर्णय गरेको हो ।

बैठकका निर्णय सुनाउँदै उपत्यका मेयर फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकाभित्र समुदायस्तरमा कोरोना संक्रमण फैलिएको स्थितिलाई मध्यनजर गरी सीमानाकामा कडाइ गर्नुपर्ने निर्णय भएको बताउनुभयो ।

सरकारको विरोध र समर्थनमा र्‍याली निकाल्ने, भेला, अनशन, जुलुसलगायतका गतिविधि गर्न निषेध गर्नुपर्ने र जात्रा तथा साँस्कृतिक गतिविधिमा समेत रोक लगाउनुपर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

आर्थिक गतिविधिलाई चलायमान बनाउन व्यापारिक क्षेत्र र सपिङ मलहरुमा कोभिड मापदण्ड पालना भए/नभएको अनुगमन गर्ने र पालना नगर्नेलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।

सार्वजनिक यातायातलाई हालको लागि रोक लगाइ निजी सवारी-साधनमा जोर-बिजोर प्रणाली लागू गर्नुपर्नेलगायतका निर्णयसमेत फोरमले गरेको छ ।

त्यस्तै, स्थानीय तहबाट प्रदान भएको सेवा प्रवाहलाई आवश्यकताअनुसार नियमितरुपमा सुचारु गर्ने निर्णय पनि फोरमले गरेको छ ।

यसबाहेक सरकारले शिक्षक दरबन्दी मिलान गर्ने कार्य गरिराखेको सम्बन्धमा उपत्यका मेयर फोरमको गम्भीर ध्यानाकर्षण भएको पनि सचिव श्रेष्ठले बताउनुभयो ।

विषयगत आधारमा शिक्षकहरुको अनुपात वर्तमान स्थितिको आधारमा कायम गर्नुपर्ने ठहर गर्दै शिक्षकहरुको तलब भत्ता तत्काल उपलब्ध गराउनसमेत फोरमले माग गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ संशोधनकाक्रममा रहेकोमा फोरमको गम्भीर ध्यानाकर्षण भएको पनि श्रेष्ठले बताउनुभयो ।

बैठकले ऐन संशोधन गर्ने सम्बन्धमा सुझाव तयार पार्न कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाको संयोजकत्वमा समितिसमेत गठन गरेको छ ।