
काठमाडौं, भदौ २३ । सरकारले पर्याप्तरुपमा नियमित र उद्धार उडान गर्न नसक्दा हजारौं नेपाली विदेशमा अलपत्र परेका छन् । भिसा अवधि सकिँदा जरिवाना तिर्न नसकेर धेरैको बिचल्ली भएको छ ।
नेपाली दूतावासले राम्रोसँग समन्वय नगरिदिँदा उनीहरुमा धैर्यको बाँध फुट्दै गएको छ ।
कोरोनाका महामारीका कारण एक लाख बढी नेपालीले विदेशमा रोजगारी गुमाएका छन् भने ९० हजार नेपाली भिसा अवधि सकिएर तथा विविध कारणले रोजगारी गुमाइ तत्काल स्वदेश फर्किनुपर्ने अवस्थामा रहेको सरकारी तथ्यांक छ ।
रोजगारी गुमाएको पीडा त छँदैछ, अर्काेतिर सम्बन्धित दूतावासले पनि बेवास्ता गर्दा पीडामाथि पीडा थपिएको छ ।
साउदी अरबमा कार्यरत् नुवाकोटका अर्जुन लामिछाने लामो समयदेखि काम नपाइ यसै कोठामा थन्किएर बस्नुपरेको गुनासो गर्नुहुन्छ ।
दूतावासमा पटक–पटक सम्पर्क गर्न खोज्दासमेत फोन नै नउठाउने र ‘अफ’ गर्ने गरेको उहाँको भनाइ छ ।
सोलुखुम्बुका गाहाध्वज राईको पनि पीडा उस्तै छ । १० महिनाअघि रोजगारी गुमाएका राईले भिसा नवीकरणका लागि पटक पटक दूतावासमा आग्रह गरे । तर, काम हुनसकेन ।
विगत डेढ महिनायता घरबाटै रकम पठाएर आफनो गुजारा चलाउने गरेका छन् ।
मलेसियामा कार्यरत् विराटनगरका वेदकुमार खतिवडाको करार अवधि सकिसक्यो । न रोजगारदाता कम्पनी, न दूतावासले कानुनी प्रक्रियामा सहजीकरण गरेका छन् ।
घर फर्कन चाहेका खतिवडालाई दूतावासले ‘पीसीआर’ जाँचको रिपोर्ट लिएर आउन भन्छ । तर, कसरी गर्ने थाहा छैन ।
यूएईमा रहनुभएका नेपाली पत्रकार मेघराज सापकोटा यूएईबाट तत्काल फर्कन ३५ हजार तयार छन् । उनीहरु अब केही यो महिनाभन्दा बढी बसे जरिवाना तिर्नुपर्ने उहाँ बताउनुहुन्छ । हवाई भाडा महँगो भएका कारण कतिपय फर्कन नसक्ने अवस्थामा रहेको उहाँको भनाइ छ ।
सरकारले गत जेठ २३ गतेबाट सुरु गरेको उद्धार उडानबाट भदौ २३ गतेसम्म ५८ हजार नेपालीको उद्धार गरेको छ । फर्कनैपर्ने बाध्यतामा रहेकाको संख्या झन्डै दोब्बर छ ।
तर, पर्याप्त नियमित उडान हुन नसक्दा उनीहरुले कहिलेसम्म स्वदेश आइपुग्छन् भन्नसक्ने अवस्था छैन ।
प्रतिक्रिया दिनुहोस्