
काठमाडौं, भदौ २३ । नेपाली कांग्रेसले कोरोनाभाइरस संक्रमणको असामान्य अवस्थामा पनि सामान्य अवस्थामा जस्तै सरकारले उद्योग, व्यवसायी र करदातालाई नियमित कर विवरण तथा कर भुक्तानी गर्न दबाब दिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेसको उद्योग तथा व्यापार विभागले मंगलबार विज्ञप्तिमार्फत् एकातिर महिनाभर आवागमनमा रोक लगाउने, अर्कोतर्फ मसान्त सकिनै लाग्दा कर उठाउनका लागिमात्रै यही भदौ २३, २४ र २५ गते बैंकहरु खुला गर्न र २५ गतेभित्रै कर विवरण तथा कर भुक्तानी गर्न दबाब दिनु अव्यावहारिक भएको ठहर गरेको छ ।
कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि छ महिनादेखि औपचारिक र अनौपचारिकरुपमा जारी रहेको ‘लकडाउन’ तथा निषेधाज्ञाले देशको आर्थिक, सामाजिक क्षेत्रसँगै सम्पूर्ण उद्योग, कलकारखाना तथा सरकारी, निजी क्षेत्र पनि नराम्रोसँग प्रभावित भएको विज्ञप्तिमा जनाइएको छ ।
कोरोनाको त्रास र निषेधाज्ञाका कारण आमजनता घरभित्रै बसिरहेकामात्र छैनन्, सम्पूर्ण कलकारखाना, उद्योगधन्दादेखि सबै कार्यालयहरु बन्द रहेको अवस्थामा पनि कर दाखिला गर भन्नु सर्वोच्च अदालतले जारी गरेको आदेशहरुको विरुद्धको कदमसमेत भएको विभागका सचिव दीर्घमान श्रेष्ठले उल्लेख गर्नुभएको छ ।
विभागले अव्यावहारिक र व्यवसायीविरोधी निर्देशन सच्याएर निषेधाज्ञापश्चात् एक महिनाभित्र करदाताले कर विवरण तथा कर दाखिला गर्ने/गराउने व्यवस्था मिलाउन तत्काल सम्बन्धित निकायसँग माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्