१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पैसा सापटी माग्दा नदिएपछि दाजु-बहिनीको हत्या गरेको खुलासा


0
Shares

खोटाङ, भदौ २३ । जिल्ला प्रहरी कार्यालय खोटाङले जन्तेढुंगा गाउँपालिका–४, डम्बर्खुशिवालयका दुई वृद्ध-वृद्धाको विभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई सार्वजनिक गरेको छ ।

जंगलनजिकै एकान्तमा घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उहाँकी बहिनी ६७ वर्षीया गोपीमाया श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेका सोही ठाउँका ३३ वर्षीय दुर्गा भनेर चिनिने दुर्गाबहादुर राईलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

श्रेष्ठ दाजु-बहिनीको हत्या भएको तीन दिनपछि स्थानीय बासिन्दाले थाहा पाएर प्रहरीलाई जानकारी दिएको आधारमा खोटाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाको टोलीले अभियुक्त राईलाई भदौ २० गते पक्राउ गरेको थियो ।

घटनालगत्तै भागेर सोही गाउँपालिका–२, बोपुङ पुगेको अवस्थामा पक्राउ परेका राईलाई भदौ २१ गते जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याएलगत्तै कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको थियो ।

पक्राउ परेका राईले पैसा सापटी माग्दा नदिएको झोकमा आफूले श्रेष्ठ दाजु-बहिनीलाई खुकुरी प्रहार गरेर हत्या गरेको स्वीकारेको प्रनाउ चिमोरियाले बताउनुभयो ।

आफ्नै घरबाट खुकुरी बोकेर गएका अभियुक्त राईले दाजु इन्द्रबहादुरलाई खुकुरी प्रहार गरेर हत्या गरेपछि प्रतिकारमा उत्रिएकी बहिनी गोपीमायालाईसमेत खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले पत्रकार सम्मेलनमा जनाएको छ ।

मृतक दाजु-बहिनीको घर एकान्तमा भएकाले घटनाकोबारेमा तीन दिनपछिमात्र जानकारी पाइएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले बताउनुभयो ।

अविवाहित रहेका दाजु इन्द्रबहादुर शारीरिक अपांगसमेत रहेकाले उनको हेरचाह गर्न बहिनी गोपीमाया केही समयदेखि माइतीघरमै बसेकी थिइन् ।