१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


कोरोनाबीच पनि अघि बढ्यो नागढुंगा–सिस्नेखोला सुरुङ निर्माण


0
Shares

काठमाडौं, भदौ २४ । कोरोना रोकथामका लागि जारी निषेधाज्ञाको समयमा पनि नेपालको सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग नागढुंगा–सिस्नेखोला निर्माणको काम अघि बढिरहेको छ । निर्माणस्थलमा ‘क्लोज क्याम्प’भित्र बसेर निर्माणको काम भइहेको छ ।

गत वर्ष निर्माण सुरु गरेको जापानी निर्माण संस्था हाजमा आङदो कर्पोरेसनले अहिलेपनि भएका जनशक्तिमार्फत् काम गरिरहेको छ । निर्माणस्थलमा अहिले झन्डै २०० कामदार कार्यरत् छन् ।

काम अघि बढाउन जनशक्तिको अभाव नरहेको सडक विभागले जनाएको छ ।

बन्दाबन्दी पहिले नै कम्पनीले आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरिसकेको थियो ।

निर्माण सुरु भएको १० महिना हुँदा अहिलेसम्मको भौतिक प्रगति झन्डै चार प्रतिशत रहेको छ । अहिलेसम्म भौतिक प्रगति सातदेखि आठ प्रतिशत हुने लक्ष्य लिइएको थियो ।

निर्माणको काम अवरुद्ध नै नभएपनि कतिपय समस्या आइरहेकाले लक्ष्यभन्दा कम प्रगति भएको बताइएको छ ।

केही समयपहिलेसम्म निर्माण सामग्रीको अभाव रहेको थियो । धादिङकै कतिपय स्थानीय तहले गिट्टी, बालुवालगायतका निर्माण सामग्रीको ढुवानी गर्न दिएका थिएनन् ।

अहिले स्थानीय तहसँगको समन्वयमा त्यसको समाधान खोजिएको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो-‘केहीले अवरोध गर्न खोजेपनि सम्झाएर, बुझाएर अहिले निर्माण सामग्री ल्याउने वातावरण बनाइएको छ ।’

सुरुङमा अहिले काठमाडौंतर्फ काम गर्न नसकिएपनि धादिङतर्फ ‘क्लोज क्याम्प’मा काम भइरहेको छ । सिस्नेखोला ‘डाइभर्ट’ गर्ने काम भइरहेको प्रमुख थापाले बताउनुभयो ।

त्यससँगै जग्गा सम्याउने र सुरुङको मुखमा निर्माणको काम भइरहेको छ । सरकारले गर्नुपर्ने जग्गा अधिग्रहणको काम अघि बढिरहेको उहाँले जानकारी दिनुभयो ।

बलम्बुमा फ्लाइओभर निर्माणका लागि जग्गा मुआब्जाको प्रक्रिया बन्दाबन्दीपहिले नै अघि बढेको थियो । धादिङमा भने जग्गा अधिग्रहणको काम कममात्रै रहेको छ ।

निर्माणस्थलमा रहेका धेरै जग्गा अधिग्रहण गरिएको छ भने समस्या भएका केही व्यक्तिकोमात्रै अधिग्रहण बाँकी छ ।

उहाँले भन्नुभयो-‘जग्गा रोक्का भएका व्यक्तिकोमात्रै जग्गाको मुआब्जा दिन बाँकी छ ।’

निर्माण कम्पनीको सडक विभागसँग ४२ महिनामा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो । अहिले योजना गरिएभन्दा थोरै ढिलो भएपनि त्यसले समग्रमा असर नगर्ने प्रमुख थापाले बताउनुभयो ।

निर्माण कम्पनीले बाँकी समयमा काम सञ्चालन गर्नसके समयमै सकिने बताउँदै आएका छन् ।

जापान सरकारको ‘सफ्ट लोन’मा ४२ महिनामा सो सुरुङको निर्माण गर्नेगरी नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङदो कर्पोरेसनबीच गत वर्ष असोजमा सम्झौता भएको थियो ।

सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुंगा–नौबिसे सडकखन्डमा दैनिकरूपमा हुने जाम हट्ने अपेक्षा गरिएको छ ।

त्यस स्थानमा सयौंको संख्यामा सवारी साधन र धेरै व्यक्ति अलपत्र पर्ने गरेकामा त्यसको समाधान हुनेछ । त्यसको समाधानसँगै पेट्रोलियम पदार्थको बचत पनि हुनेछ ।

४२ महिनाको अवधि निर्माण सम्पन्न गर्नका लागि पर्याप्त समय भएको विभागले बताउँदै आएको छ ।

आयोजनाअन्तर्गत् साढे नौ मिटर र चार मिटर गरेर दुईओटा सुरुङको निर्माण हुनेछ । दुईओटा ‘फ्लाइओभर’, एउटा ‘सर्भिस सेन्टर’ र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ ।

सुरुङमार्गकै मुखमा र सतुंगलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ ।

अन्तर्राष्ट्रिय मापदन्डअनुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुन्छ । तीन लेन नपुगेपनि मुख्य सुरुङमार्गमा तीनओटा सवारी-साधन सहज आवत-जावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रँदा पनि दुईओटै गाडी चल्न सक्नेछन् ।

सहायक ‘टनेल’ तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँ-ठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वार बन्नेछ ।

सुरुङमार्ग खन्दा आएका मजबुत ढुंगा र माटो त्यहीँ निर्माणकाक्रममा प्रयोग हुने बताइएको छ । कमजोर ढुंगा र माटोलाई भने सिस्नेखोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिने प्रमुख थापाले बताउनुभयो । सो स्थानमा बसपार्क, तरकारी संकलन केन्द्रलगायतका स्टल हुने बताइएको छ ।

निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेँसी नगरपालिकामा नै हस्तान्तरण गर्ने योजना रहेको छ ।

जाइकाको सफ्ट लोन (०.०१ प्रतिशत ब्याजदरको सहुलियत ऋण) सहयोगमा साढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया सुरु गरिएको थियो ।

यसका लागि रु २२ अर्ब लाग्नेमा जाइकाले रु १६ अर्ब सहयोग गर्ने र रु छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।