२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ओली-दाहालबीच छलफल, स्थायी कमिटी बैठकका एजेन्डा तय


0
Shares

kp oli prachanda

काठमाडौं, भदौ २४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यही शुक्रबार बस्ने स्थायी कमिटी बैठकका एजेन्डा तय गरेको छ ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबार बालुवाटारमा भएको छलफलले बैठकका एजेन्डा तय गरेको हो ।

करिब दुई घन्टा भएको छलफलमा विवाद समाधान कार्यदलले दिएको प्रतिवेदनलाई बैठकको एजेन्डा बनाएको बुझिएको छ ।

स्रोतकाअनुसार दुई अध्यक्षको छलफलले दाहालको कार्यकारी अध्यक्षको भूमिकालाई व्याख्या गरेको छ ।

यस्तै, पार्टी सञ्चालनमा प्रधानमन्त्री ओलीको भूमिकाबारे पनि स्पष्ट पारिएको छ ।

एजेन्डाहरु स्थायी कमिटी सदस्यहरूलाई पठाइएको र तिनै एजेन्डामा तयारी गरेर बैठकमा उपस्थित हुनुपर्ने भनिएको छ ।

गएको साउन १३ गतेदेखि अनिश्चित बनेको पार्टीको स्थायी कमिटी बैठक भदौ २६ गते शुक्रबारलाई बोलाइएको छ ।

पार्टीमा अध्यक्षद्वयको शक्ति बाँडफाँटमा विवाद चर्किएपश्चात् बैठक स्थगित गरेर अध्यक्षद्वयले विवाद समाधान गर्न कार्यदल गठन गर्नुपरेको थियो ।

कार्यदलको प्रतिवेदनमा उल्लेखित मन्त्रिपरिषद्, प्रदेश सरकार फेरबदललगायतका विषयमा नेताहरुको फरक–फरक बुझाइले फेरि विवाद खडा गरेको छ । कार्यदलको प्रतिवेदनप्रति वरिष्ठ नेता माधव नेपाल समूह अझै सकारात्मक देखिएको छैन ।