१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


थुनुवा मृत्यु प्रकरणः रौतहटका तत्कालीन एसपीसहित छ प्रहरीविरुद्ध जाहेरी


0
Shares

रौतहट, भदौ २४ । रौतहटको प्रहरी हिरासतमा यातना दिएर थुनुवा मारेको आरोपमा पीडित परिवारले बुधबार रौतहटका तत्कालीन जिल्ला प्रहरी प्रमुखसहित छजनाविरुद्ध जाहेरी दिएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा यातना दिएपछि मृत्यु भएको भनिएका विजय महराका बाबु पनिलाल महराले यातना र ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न रौतहटका तत्कालीन प्रहरी प्रमुख एसपी रविराज खड्कासहित छजनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयमा जाहेरी दिनुभएको हो ।

महराको यही भदौ १० गते उपचारकाक्रममा मृत्यु भएको हो ।

पनिलालले इलाका प्रहरी कार्यालय गरुडाका तत्कालीन डीएसपी ज्ञानकुमार महतो, प्रहरी निरीक्षक नवीन सिंह, सई वीरेन्द्र यादव, हवल्दार फिरोजमियाँ धुनियाँ र मुन्ना सिंहविरुद्ध पनि जाहेरी दिनुभएको छ ।

महतो विजय महराको मृत्यु हुँदा इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख हुनुहुन्थ्यो । वीरेन्द्र यादव गरुडामै कार्यरत् हुनुहुन्छ ।

त्यस्तै, प्रहरी निरीक्षक नवीन सिंह र हवल्दारद्वय मियाँ र सिंह निरन्जन रामको हत्याको घटनापछि उक्त घटनाको अनुसन्धानका लागि गरुडा आएका थिए ।

घटनापछि प्रहरीले रौतहटका एसपी खड्कालाई फिर्ता बोलाएर अहिले अर्का एसपी सिद्धिविक्रम शाहलाई पठाइसकेको छ ।

उक्त जाहेरीलाई जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पठाएको छ ।

निरन्जन रामको हत्याको आरोपमा पक्राउ परेका विजय महराको थुनामै रहेका बेला बिरामी परी उपचारकाक्रममा मृत्यु भएपछि पीडित परिवारले प्रहरीको कुटपिटबाट मृत्यु भएको बताउँदै आएको छ ।

दोषीलाई कारबाहीको माग गर्दै गरुडामा निरन्तर प्रदर्शनसमेत भइरहेको छ ।