१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कोरोना भाइरस घातक बन्न सक्ने थाहा हुँदाहुँदै ट्रम्पले पर्याप्त कदम नचालेको खुलाशा


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस घातक बन्न सक्ने थाहा हुँदाहुँदै पनि संक्रमण नियन्त्रणका लागि समयमै पर्याप्त कदम नचालेको खुलेको छ ।

प्रतिष्ठित पत्रकार बब वूडवार्डसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिकामा महामारी प्रवेश गर्नु पूर्व नै कोरोना भाइरस घातक रहेको बताएको तर त्यसलाई व्यवहारमा भने कम आँकेर पर्याप्त कदम नचालेको देखिएको हो । वूडवार्डले आफ्नो नयाँ पुस्तकमा राष्ट्रपति ट्रम्पसँगको अन्तरवार्तालाई जस्ताको त्यस्तै उल्लेख गरेका छन् ।

उनले गएको डिसेम्बरदेखि जुलाइसम्म राष्ट्रपति ट्रम्पसँग १८ पटक अन्तरवार्ता लिएका थिए ।

अन्तरवार्तामा ट्रम्पले अमेरिकामा कोरोनाका कारण पहिलो व्यक्तिको मृत्यु हुनु भन्दा पहिले नै कोरोना भाइरसलाई ‘डेड्ली स्टफ’ भनेको वूडवार्डको नयाँ पुस्तक रेजमा उल्लेख छ ।

पुस्तकबारे टिप्पणी गर्दै ट्रम्पले महामारीलाई लिएर सर्वसाधारणमा त्रास नफैलियोस् भन्ने चाहेको बताएका छन् ।

अमेरिका कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको देश हो ।

त्यहाँ अहिलेसम्म कोभिड–१९ बाट एक लाख ९० हजार सात सय भन्दा बढीको ज्यान गएको छ । संक्रमितको संख्या ६३ लाख ५९ हजार पुगेको छ ।(एजेन्सी)