१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढ्यो, पसलहरु खुल्न थाले


0
Shares

काठमाडौं । तीन सातादेखिको निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा विहीबार बिहानैदेखि चहलपहल बढेको छ ।

व्यापार–व्यवसाय खुल्न थालेका छन् भने निजी तथा सार्वजनिक गाडी जोर–बिजोर प्रणालीमा संचालन भएका छन् ।

उपत्यकाका तीनवटै जिल्लाका प्रशासन प्रमुखको संयुक्त बैठकले हिजो गरेको निर्णय अनुसार बिहान ११ बजेसम्म र बेलुका पाँच देखि ७ बजेसम्म गरी दुई सिफ्टमा खाद्यान्न पसल खुला हुनेछन् ।

खाद्य बस्तु, दूध र दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु बिक्रीका लागि उक्त सिफ्ट लागु हुनेछ ।

यसैगरी फुटपाथ पसल, ठेला व्यापार, स्टेसनरी पसलहरु, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म खोल्न पाइने छ ।

सवारी साधन मर्मत सम्बन्धी वर्कसपहरु बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

यसैगरी सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसलहरु सोमबार, बुधबार र शनिबार मात्र खुल्न पाउने छन् ।

यसैगरि भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने छ । फर्निचर र अटोमोबाइल सम्बन्धी पसलहरु सातामा सोमबार र बुधबार मात्र खुल्नेछन् ।

काठमाडौँ उपत्यका भदौ ३ गतेदेखि निषेधाज्ञा लागु भएको थियो । पछिल्लो पटक परिमार्जित निषेधाज्ञा भदौ ३१ गतेसम्म कायम रहने छ ।