
-डोलराज रानाभाट/ईमेज
चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोही भोकै वस्नु पर्दैन भन्ने भाषण गरी रहँदा यता चितवनका बिपन्न बर्ग भने भोकभोकै बस्न बाध्य भएका छन् ।
भोकले गर्दा पेट मिचेर हिड्नु पर्ने बाध्यतामा परेका उनीहरुलाई पेट पाल्ने पिरलोले पिल्साई रहेको छ ।
सवैका लागि खाना नाना र छाना हाम्रो घोषणा भन्दै भरतपुरमा भव्य कार्यक्रम भयो । भरतपुर महानगरपालिकालाई सडकमानव मुक्त महानगरपालिका घोषणा गरियो ।
तर, यस्तो दृष्य हेर्दा सडक मानवमुक्त महानगर घोषणा कार्यक्रमले अहिले उल्टै महानगरलाई गिज्याई रहेको भान गराउँछ ।
जसको अभिभावक छैन उसैको अभिभावक सरकार हुन्छ यही भनाई व्यानरमा थियो । तर सरकारी कार्यक्रममा भाषण र नारा जति मिठा छन् वास्तविकता उत्तिकै तिता ।
महानगरपालिका अभिभावक त परैको कुरा । सडकमा अलपत्र भोकै हुँदासम्म कुनै व्यवस्था नगरेको पाइएपछि बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र चितवनने एक छाक खाना खुवाउने अभियान सुरु गर्यो । जहाँ वालवालिका देखि वृद्धसम्मले पेट पालो गरेका छन् ।
भीमलाल पोखरेलले खाना नपाएकै चार दिन भयो । अहिले केन्द्रले संचालन गरेको यही अभियानबाट भोको पेट भर्न आत्तुर देखिनुहुन्छ ।
रिता महतो ६ महिनाको वच्चा सहित नारायणी नदी किनारमा लर्याङतर्याङ गर्दे हुनुहुन्छ । लकडाउनले गर्दा काममा जान नपाएपछि पेट भर्नै पिरलोले उहाँलाई पनि पिरोली रहन्छ ।
धनवहादुर परियार र विष्णु ढकालको कुनै गन्तव्य छैन । न बस्ने वासको ठेगान छ न त गास कै टुंगो छ ।
ठेला चलाएर पेट भर्नुभएका उहाँहरु विचल्लीमा परेपछि केन्द्रले दिएको एक छाकले जीवन धानिरहनुभएको छ । लाल वहादुर लामा रामसिह गिरी लगायत सवैको अवस्था उस्तै छ ।
केन्द्रकी संयोजक कुँवरले वास्तविकतालाई ओझेलमा पारेर घोषणा गरिने सरकारी कार्यक्रम ओठेभक्ति भएको आरोप लगाउनुभयो ।
आफूहरुले २० दिनसम्म भोकै सडकमा अलपत्रहरुलाई खाना खुवाउदासम्म पनि कुनै सरकारी निकाय वा महानगरपालिकाले चासोसम्म नराखेको गुनासो गर्नुभयो ।
केन्द्रले चलाएको अभियानलाई सामाजिक संघ संस्था र समाजसेवीहरुले भने सहयोग गरी रहेकाछन् ।
त्यसैले पनि यस्तो अवस्थामा भोकैबस्न बिवश बालबालिका र बिपन्न बर्गलाई सबैले सहयोग गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्