
बागलुङ, भदौ २५ । ढोरपाटन नगरपालिकास्थित भुजीखोलामा यही भदौ १७ गते आएको बाढीमा परी १६ जना अझै बेपत्ता छन् । बुधबारसम्ममा मृतकको संख्या २२ पुगेको छ ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बेपत्ताको खोजीकार्य जारी रहेको बताउनुभयो ।
‘खोलाको बहाव पनि घट्दै गएकाले अब थप सहज हुन्छ । खोजीकार्य अहिल्यै रोकिन्न’-उहाँले भन्नुभयो ।
खोलाको सतह घटेपछि बुधबार तीन र मंगलबार दुई शव फेला पार्न सकिएको उहाँको भनाइ छ ।
प्रहरीले छिमेकी गुल्मी जिल्लाको बडिगाडखोलासम्म पुगेर शवको उद्धार गरेको थियो । बाढीले शव बगाएर कैयौं किलोमिटर तलसम्म पुर्याएको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।
बाढीको घटनालगत्तै नेपाली प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयबासी खोजी र उद्धारमा खटिएका थिए ।
ढोरपाटन नगरपालिका–९ मा खसेको पहिरोले भुजीखोला थुनिँदा बाढीको रूप लिएको थियो ।
सोही वडामा सबैभन्दा बढी जनधनको क्षति भएको छ । वडा नम्बर-७ र ८ पनि बाढीबाट प्रभावित छन् ।
प्रहरीकाअनुसार बेपत्ता हुनेमा वडा नम्बर-९ का २१ वर्षीया टेकमाया विक, १५ वर्षीय समुन्द्र विक, एक वर्षीया तिर्सना विक, १५ वर्षीया मनिषा विक, नौ वर्षीय रोशन विक, चार वर्षीय रवि विक, छ वर्षीया प्रतीक्षा विक र ३१ वर्षीय जीतबहादुर विक हुनुहुन्छ ।
यस्तै, सोही वडाका २२ वर्षीया मनकुमारी विक, छ वर्षीया प्रकृति पुन, १० महिने शिशु उमिसा विक, ३८ वर्षीया हस्तमाया विक, ५६ वर्षीया कौशिला पुन, २१ वर्षीय विशाल पुन, आठ वर्षीय मोहन विक र ६५ वर्षीया तुलमती घर्ती बेपत्ता हुनुहुन्छ ।
बाढीले ८० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुर्याएको ढोरपाटन नगरपालिकाले जनाएको छ ।
सडक, पुल, विद्यालय, स्वास्थ्यचौकी, लघुजलविद्युत् आयोजनालगायत सयौं भौतिक संरचनामा क्षति पुगेको छ ।
बाढीप्रभावितको राहत र पुनःस्थापनाका लागि देश-विदेशबाट स्वःस्फूर्तरूपमा सहायता जुट्नेक्रम जारी छ ।
संघ र प्रदेश सरकारले मृतकका परिवारलाई राहत रकमसहित क्षतिग्रस्त घर पुनःनिर्माणमा सघाउने भएको छ ।
सरकारी निकायसँगै जनस्तरबाटसमेत राहत संकलनमा सक्रियता बढेको छ । संकलित राहतलाई एकद्वार प्रणालीमार्फत् बाढीप्रभावित परिवारलाई हस्तान्तरण गरिने ढोरपाटन नगरपालिकाका उपप्रमुख करमती पुनले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्