१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खजुरामा वर्णशंकर धानको बीउ उत्पादन सुरु


13
Shares

राँझा, भदौ २५ । बाँकेको खजुरास्थित कृषि अनुसन्धान निर्देशनालयले हाइब्रिड धानको बीउ उत्पादन सुरु गरेको छ ।

नेपाली किसानले भारतीय वर्णशंकर धानको बीउ किन्दा ठगिने गरेको पाइएकाले नेपालमै हाइब्रिड धानको विकास गरी उत्पादन सुरु गरिएको जनाइएको छ ।

हर्दिनाथ हाइब्रिड–१ ‘एफ १’ र हर्दिनाथ हाइब्रिड–३ ‘एफ ३’ नामको हाइब्रिड धानको बीउको उत्पादन सुरु भएको कृषि अनुसन्धान निर्देशनालय प्रदेश नम्बर-५ खजुराका निर्देशक जनमेजय त्रिपाठीले बताउनुभयो ।

यो परीक्षण उत्पादन सफल भए यसअघि भारतलगायत विभिन्न मुलुकबाट आयात हुँदै आएको हाइब्रिड धानको बीउको परिपूर्ति सहजरुपमा हुने र गुणस्तरहीन बीउबाट किसान ठगिने परम्पराको अन्त्य हुनेछ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले केही समयअघि पहिलोपटक नेपालमै धानको हाइब्रिड जात विकास गरेको थियो ।

हर्दिनाथ हाइब्रिड–१ ‘एफ १’ र हर्दिनाथ हाइब्रिड–३ ‘एफ ३’ नामकरण गरिएको उक्त जात राष्ट्रिय बीउबिजन समितिबाट स्वीकृत भएर २०७७ साउन २६ गते राजपत्रमा प्रकाशन भइ कार्यान्वयनमा आएको छ ।

खजुरामा यी दुवै हाइब्रिड धानको दुई हेक्टर जमिनमा दुई टन उत्पादन गर्ने लक्ष्यसहित उत्पादन सुरु गरिएको निर्देशनालयका बाली वैज्ञानिक रामदास चौधरीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार बीउ उत्पादन गर्दा आठ लाइन पोथी र बीच-बीचमा दुई लाइन भालेलाई राखेर क्रस गरी निस्केको बच्चा बिरुवाका रुपमा हर्दिनाथ हाइब्रिडको नयाँ बीउ उत्पादन गरिन्छ । कम समयमा उत्पादकत्व क्षमता बढी भएका यी बीउ यसअघिको हर्दिनाथभन्दा फरक छ ।

यी दुवै धान तराई–मधेसका साथै समुद्र सतहदेखि ७०० देखि ९०० मिटर उचाइसम्मका लागि सिफारिस गरिएको छ ।

१२२ दिनमा पाक्ने हर्दिनाथ हाइब्रिड १ धान प्रतिहेक्टर ७.५ टन उत्पादन क्षमता छ भने ११५ दिनमा पाक्ने हर्दिनाथ हाइब्रिड ३ धानको उत्पादन क्षमता प्रतिहेक्टर आठ टन रहेको निर्देशनालयले जनाएको छ ।

नेपाली बजारमा उन्नत जातका धानको बीउ नपाइएका कारण नेपाली किसान भारतीय बीउप्रति निर्भर हुनुपरेको छ ।

गुणस्तर परीक्षण नगरी भारतबाट जथाभावी ल्याइने बीउ नउम्रिएका कारण बेला-बेलामा कृषक ठगिने गरेका छन् ।