१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


झापामा एकै परिवारका ११ जनामा कोरोना पुष्टि


0
Shares

झापा, भदौ २५ । झापाको कनकाई नगरपालिकामा एकै परिवारका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कनकाई नगरपालिका वडा नम्बर-३, टप्पुमा परिवारका सबैजनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा १४ वर्षीय नातिदेखि ८४ वर्षीया हजुरआमासम्म छन् ।

परिवारका सबै सदस्यलाई कोरोना संक्रमण भएपछि कनकाई नगरपालिकाले नौजनालाई घरमै ‘होम आइसोलेसन’ तयार गरेर राखेको छ । दुईजनालाई अस्पताल पठाएको छ ।

‘कनकाई नगरपालिकाको तथ्यांक संकलन गर्ने कर्मचारी, त्यो परिवारको छोरीलाई सुरुमा कोरोना संक्रमण पुष्टि भयो’-कनकाई नगरपालिका कोरोना नियन्त्रण सूचना तथा सञ्चार समिति सदस्य लक्ष्मी अधिकारीले भन्नुभयो–’त्यसपछि गरिएको परीक्षणकाक्रममा उनकी बहिनी र परिवारका सबै सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको हो ।’

कोरोना संक्रमितमध्ये ती नगर कर्मचारीलाई कोरोनाको लक्षण देखिएपछि उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

उनकी बहिनीमा पनि कोरोनाको लक्षण देखिएपछि भद्रपुरस्थित मेची प्रदेशिक अस्पताल पठाइएको छ ।

परिवारका बाँकी नौ सदस्यलाई कोरोनाको लक्षण नदेखिएकाले घरमै होम आइसोलेसन बनाएर राखिएको अधिकारीको भनाइ छ ।

परिवारका सबै सदस्यलाई संक्रमण देखिएपछि कनकाई नगरपालिकाले खाद्यान्नसहित आवश्यक पर्नसक्ने औषधिसमेत उनीहरुको घरमै व्यवस्थापन गरेको छ ।

बिहीबारमात्रै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलसहित नगरपालिकाको टोलीले संक्रमित परिवारमा खाद्यान्न प्रदान गरेको हो ।

यता, कनकाई नगरपालिकाले दुई सातादेखि नगरलाई ‘सिल’ गरेको छ । नगर क्षेत्रमा संक्रमण फैलिएपछि नगरलाई सिल गरिएको हो ।

कनकाई नगरपालिकामा अहिलेसम्म ४८ जनामा कोरोना संक्रमण देखिएको छ ।