
-सन्तोष पुर्कुटी/ईमेज
ताप्लेजुङ । ताप्लेजुङको मालपोत कार्यालयमा अनलाइन प्रणाली सुरु भएपछि सेवाग्राहीलाई झन् सास्ती भएको छ ।
विद्युत र इन्टरनेटको समस्याका कारण अनलाइन प्रणाली सुरु भएपछि सानो कामका लागि पनि दिनहुँ कार्यालय धाउनुपर्ने बाध्यता भएको हो ।
गत जेठ २१ गते मालपोत कार्यालय ताप्लेजुङमा भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत् अनलाइन सेवा सुरु गरिएको थियो । जहाँ न विद्युतको नियमितता छ, न त इन्टरनेटको व्यवस्थानै नै भरपर्दो छ ।
तयारीबिनै अनलाइल प्रणाली सुरु गर्दा सेवाग्राहीहरुले आजभोलि दैनिक रुपमा विभिन्न सास्तीहरु पाइरहेका छन् ।
रोचक त के छ भने अनलाइन प्रणाली सुरु गर्ने दिनमै जिल्ला सदरमुकाममा विद्युत थिएन ।
त्यसको प्रत्यक्षदर्शी भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणी दुवाढीको उपस्थितिमा सुचारु गरिएको अनलाइन प्रणाली अहिले सेवाग्राही र कर्मचारीलाई निल्नु न ओकल्नु जस्तै भएको छ ।
छोटो समयमै सम्पन्न हुनुपर्ने कामका लागि समेत सेवाग्राहीहरु चार दिनसम्म मालपोत कार्यालयमा कुर्नुपर्ने अवस्था आएको छ ।
जिल्लाको दुर्गम पापुङ, याम्फुदिन, कालिखोला, ओलाङ्चुङगोलालगायतका स्थानवाट आएका सेवाग्राही बढी मारमा पर्ने गरेको लेखापढी व्यावसायी शेरवहादुर ताम्लीङको भनाइ छ ।
अनलाइन प्रणालीमार्फत् सफ्टवेयर सञ्चालन गर्ने दक्ष कर्मचारी र पर्याप्त कम्प्युटर भए पनि विद्युत र इन्टरनेटको समस्याका कारण विगतको तुलनामा न्यून मात्रामा काम भएको कर्मचारी तीर्थराज नेपालको गुनासो छ ।
कार्यालयबाट पहिले दैनिक कम्तीमा पनि २० ओटासम्म जग्गा पास हुनेमा अहिले दैनिक २ देखि ३ ओटा मात्र पास हुने गरेको छ ।
उता, निमित्त कार्यालय प्रमुख किशोर अधिकारी भने विद्युत र इन्टरनेटमा देखिएको समस्या समाधानका लागि पहल भइरहेको दाबी गर्छन ।
तयारीबिनै प्रविधिको प्रयोग गर्नुभन्दा सबै कुराको व्यवस्थापछि मात्र यस्तो व्यवस्था लागू गर्नुपर्ने सेवाग्राहीको सुझाव छ ।
प्रतिक्रिया दिनुहोस्