
काठमाडौं, भदौ २५ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षको पारिश्रमिक पाएका छन् । उनीहरुले सन् २०१९ को पारिश्रमिक पाएका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका २२ खेलाडी तथा एक भिडियो एनालिस्टलाई एक वर्षको पारिश्रमिक उपलब्ध गराएको हो ।
क्यानले बुधबार सबैको खातामा रकम जम्मा गरेको जनाएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पारिश्रमिक नेपाल क्रिकेट संघ (क्यान)को खातामा पठाएको थियो ।
उक्त रकम क्यानले खेलाडीको खातामा जम्मा गरेको क्यानका कोषाध्यक्ष रोशनबहादुर सिंहले जानकारी दिनुभयो ।
राष्ट्रिय टोलीका खेलाडीहरुले सन् २०१९ पछि आफ्नो नियमित पाउनुपर्ने पारिश्रमिक पाउन सकेका थिएनन् ।
क्यानले नेपाली खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा विभाजन गरेको थियो । उनीहरुमध्ये ‘ए श्रेणीमा रहेका खेलाडीले मासिक रु ४५ हजार, ‘बी’ श्रेणीमा रहेका खेलाडीले रु ३५ हजार तथा ‘सी’ श्रेणीमा रहेका खेलाडीले रु २५ हजार पारिश्रमिक पाएका हुन् ।
क्यानले यसअघि ‘ए’ श्रेणीमा रहेकालाई मासिक रु ३५ हजार, ‘बी’ श्रेणीमा रहेकालाई रु २५ हजार तथा ‘सी’ श्रेणीमा रहेका खेलाडीलाई रु १५ हजार पारिश्रमिक उपलब्ध गराउँदै आएको थियो ।
आईसीसीले पारिश्रमिकका लागि खेलाडीको सूची मागेपछि क्यानले भदौ पहिलो साता २३ जनाको नाम पठाएको थियो । क्यानले पठाएको खेलाडीको सूची क्यान निलम्बन फुकुवा हुनुअघिकै हो । सन् २०१९ को पारिश्रमिकका लागि खेलाडीको सूची आईसीसीलाई पठाइएको थियो ।
यसअघि, क्यान निलम्बनमा रहेको अवस्थामा खेलाडीको पारिश्रमिक आईसीसीले नै उपलब्ध गराउँदै आएको थियो ।
आईसीसीले सन् २०१८ मा दुई वर्षको पारिश्रमिक राष्ट्रिय खेलकुद परिषद् (राखेप)मार्फत् पठाएको थियो । त्यसयता खेलाडीले आफ्नो पारिश्रमिक पाउन सकेका थिएनन् ।
क्यानले खेलाडीलाई पारिश्रमिकका लागि यसअघि तीन वर्गमा विभाजन गरेको थियो । त्यहीअनुसार नै २१ खेलाडीका लागि आईसीसीले पारिश्रमिक उपलब्ध गराएको हो ।
‘ए’ श्रेणीमा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषवाकर, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी र विनोद भण्डारी छन् भने ‘बी’ श्रेणीमा वसन्त रेग्मी, आरिफ शेख, अविनाश बोहरा, पवन सराफ, रोहितकुमार पौडेल, सन्दीप जोरा, ललितनारायण राजवंशी र सुशन भारी तथा ‘सी’ श्रेणीमा रशिद खान, इशान पाण्डे, प्रदीप ऐरी, कुशल मल्ल, कुशल भुर्तेल र राजु रिजाल रहेका छन् ।
‘ए’ श्रेणीमा रहेका खेलाडीले एक वर्षको एकमुष्ट रु पाँच लाख ४० हजार, ‘बी’ श्रेणीका खेलाडीले रु चार लाख २० हजार तथा ‘सी’ श्रेणीका खेलाडीले रु तीन लाख पाएका छन् ।
यस्तै, टेक्निकल एनालिष्ट रमन शिवाकोटीले पनि ‘सी’ श्रेणीका खेलाडीको बराबर पारिश्रमिक प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्