१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रिक्त रहेका सबै देशमा एकैपटक राजदूत नियुक्ति गर्न निर्देशन


0
Shares

काठमाडौं, भदौ २५ । सरकारले सिफरिस गरेको तीनजना राजदूतहरुको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ ।

समितिको बिहीबारको बैठकले राजकाजी खड्का, गेहेन्द्र राजभण्डारी र तापस अधिकारीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।

सरकारले खड्कालाई जर्मनी, राजभण्डरीलाई बेल्जियम र यूरोपियन यूनियन तथा अधिकारीलाई पाकिस्तानको राजदूतका लागि सिफारिस गरेको थियो ।

प्रस्तावित राजदूतहरुको योग्यता, क्षमता र अनुभवका आधारमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली २०७५ को नियम २६ को उपनियम (५) अनुसार समितिबाट नाम सर्वसम्मतिले अनुमोदन गरेको समिति सभापति लक्ष्मणलाल कर्णले बताउनुभयो ।

सभापति कर्णले सरकारले समानुपातिक समावेशीताको सिद्धान्तअनुसार राजदूतहरुको नाम सिफारिस नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

रिक्त रहेका सबै देशमा एकैपटक राजदूत नियुक्ति नगर्दा समस्या देखिएपनि आगामी दिनमा नियुक्ति गर्दा सोहीअनुसार गर्न सरकारलाई समितिले निर्देशनसमेत दिएको छ ।