२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेपालनिकट नेता भन्छन्-‘अध्यक्षद्वयको निर्णयलाई सहमतिको अन्तिम दस्तावेज मान्न सकिँदैन’


0
Shares

काठमाडौं, भदौ २५ । डेढ महिनादेखि रोकिएको नेकपा स्थायी कमिटी बैठक शुक्रबार (भोलि) बस्दैछ ।

बैठकमा सरकारको कामको समीक्षादेखि ‘एमसीसी’ परियोजनाको भविष्य र जनमतद्वारा अस्वीकृत वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा छलफल हुनेछ ।

तर, वरिष्ठ नेता माधव नेपालले उठाएको एक व्यक्ति एक पदको मुद्दा भने ओझेलमा परेको छ ।

एक व्यक्ति एक पदको वकालत गर्दै आउनुभएका वरिष्ठ नेता माधवकुमार नेपालको मुद्दा शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा प्रवेश गराइने छैन ।

भदौ १८ गतेको सचिवालय बैठकमा कैफियतको रुपमा राखेको १५ बुँदे फरक मतका केही बुँदामात्र बुधबार अध्यक्षद्वयले तयार पारेको स्थायी कमिटीको एजेन्डामा परेको छ ।

दोहोरो भूमिकामा रहनुभएका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि पदबाट राजीनामा दिनु नपर्ने भएपछि नेपालको मुद्दा पाखा लागेको हो ।

कार्यकारी अधिकार आफूले पाएसँगै यो विषयमा अध्यक्ष पुष्पकमल दाहालले मौनता साध्नुभएको हो ।

नेपालनिकट स्थायी कमिटी सदस्य युवराज ज्ञवाली अध्यक्षद्वयको गोप्य प्रस्ताव नै अन्तिम सहमतिको दस्तावेज नभएको तर्क गर्नुहुन्छ ।

अध्यक्षको ‘पोर्टफोलियो’ मिलेसँगै बहुचर्चित अमेरिकी सहयोग परियोजना एमसीसीको विषय पनि टुंगोमा पुग्ने भएको छ । यसको केही बुँदामा संशोधन गरी विवाद अन्त्य गर्न नेकपाका नेताहरु सहमत भएका छन् ।

एमसीसीलाई राष्ट्रिय हितको रुपमा व्याख्या गर्ने सहमति नेकपामा बन्ने देखिन्छ ।

बैठकमा प्रस्तुत हुने सम्पूर्ण एजेन्डाहरु विवाद समाधान समितिले दिएको प्रतिवेदनको हुबहु हो । जसलाई बुधबार अध्यक्षद्वय ओली–दाहालले अन्तिमरुप दिएका थिए ।

बैठकमा संसदीय दलको कार्यालय एउटै बनाउनेदेखि सीमा समस्याका विषय छलफल गराउने अध्यक्षद्वयको तयारी छ ।

सरकारको कामको समीक्षा, कोभिड संकट, शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न आयोगहरुको ऐन संशोधन, नेताको नाममा खुलेका प्रतिष्ठानहरुलाई नियमन गर्न कार्यदल गठनसम्मको विषय छलफल हुनेछ ।

बैठकमा एक महिनाभित्र पोलिटब्यूरो गठन गर्ने प्रस्ताव पेस हुनेछ । असोजभित्र एकताको थाती रहेका काम सम्पन्न गर्दै चैत अन्तिममा पार्टीको एकता महाधिवेशन गर्न प्रस्ताव ल्याउने तयारीमा अध्यक्षद्वय लागेका छन् ।

प्रतिनिधिसभामा पराजित वामदेव गौतमलाई राष्ट्रियसभामा लाने सचिवालय बैठकको निर्णयको पनि सदस्यहरुले प्रश्न उठाउने भएका छन् ।

दुई अध्यक्षको छलफलले तयार गरेको एजेन्डामा वरिष्ठ नेता नेपालले उठाएका कतिपय विषयहरु नपर्दा बैठकभित्र पुनः विवाद त देखिने होइन ? भन्ने शंका पनि उत्तिकै छ ।