
काठमाडौं, भदौ २५ । यूरोपियन राष्ट्र यतिबेला विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) को मापदण्डलाई अपनाउँदै फुटबल गतिविधि फर्किएका छन् ।
केहीले नयाँ सिजन सुरु गरिसकेका छन् भने केहीले तयारीलाई तीव्रता दिएका छन् । तर, नेपालमा भने फुटबल खेल अझै अनिश्चित छ ।
सरकारले जारी गरेको निर्देशनका कारण फुटबल ‘भर्चुअल’मा खुम्चिँदै छ । कोरोना महामारीको प्रकोप नदेखिएको भए यतिबेला राष्ट्रिय टोलीले कतार विश्वकप छनोटका लागि अभ्यासलाई तीव्रता दिइरहेको हुन्थ्यो ।
अभ्यास थाल्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले काठमाडौं उपत्यका र उपत्यकाभन्दा बाहिर गएका खेलाडीलाई भेला पनि पारेको थियो ।
तर, विश्वकप छनोट खेल स्थगित भएपछि काठमाडौं आएका खेलाडी निराश हुँदै घर फर्किए । फुटबलमा फर्किन आतुर भएका खेलाडी ‘फिटनेस’को विषयमा चिन्तित देखिएका थिए ।
अहिले अन्योलको अवस्थामा प्रदेशका प्रशिक्षकहरुबीच अनलाइन मिटिङ गरिरहेको र जिल्लाका प्रदाधिकारीहरुसँग पनि छलफलको क्रममा रहेको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताउनुभयो ।
छलफलपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय हुने उहाँको भनाइ छ ।
खेलाडी फुटबलमा फर्किन आतुर भएजस्तै एन्फा पनि गतिविधि सुचारु गर्न आतुर नै छ । तर, सरकारले लगाएको अंकुश र महामारीले गर्दा अन्योल देखिएको छ ।
एन्फाले सरकारबाट अनुमति पाए डब्ल्यूएचओ र ‘फिफा गाइडलाइन’लाई पूरा गर्दै फर्किन सकिने अध्यक्ष शेर्पाले बताउनुभयो ।
यूरोपमा कोरोना कहरकैबीच फुटबलसहित खेलकुद गतिविधि सञ्चालनमा आइसक्दा छिमेकी देशहरुमा समेत डब्ल्यूएचओको ‘प्रोटोकल’अनुसार खेलकुद गतिविधि अघि बढ्न खोज्दैछन् । तर, नेपालमा भने खेलाडी घरेलु अभ्यासमा सीमित छन् ।
खेलकुदका जिम्मेवार निकायले कोरोना कहरको कारण देखाउँदै विकल्पको बाटो नदेखाउने हो भने प्रतियोगितामा सहभागी हुन खेलाडीलाई फिटनेसको समस्या देखिनेछ । त्यसको असर नतिजमा सहज पक्कै पनि पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्