१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


जडीबुटीको विषयमा दुई गाउँका स्थानीयबीच झडप


0
Shares

सिमकोट, भदौ २५ । हुम्लाको खार्पुनाथ गाउँपालिका–५, दुर्पा गाउँ र खर्पेल गाउँबासीबीच वनको जडीबुटी विषयमा बुधबार र बिहीबार झडप भएको छ ।

दुर्पा गाउँबासीले भोगचलन गर्दै आएको मालिकादेवी सामुदायिक वन क्षेत्रका जडीबुटी संकलन गरेको विषयलाई लिएर दुई गाउँका नागरिकबीच झडप भएको हो ।

दुर्पा गाउँबासीले मालिकादेवी सामुदायिक वन क्षेत्रका जडीबुटी निकासी गर्न बन्द गरेका अवस्थामा छिमेकी खर्पेल गाउँबासीले जडीबुटी संकलन गर्दा झडप भएको हो ।

झडपबाट दुर्पा गाउँका अविर ऐडी घाइते भइ जिल्ला अस्पतालमा उपचार भएको छ । अन्य सातजना सामान्य घाइते भएका छन् ।

खर्पेल गाउँका युवाबाट बुधबार कुटिएर घाइते भएका दुर्पा गाउँबासीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउनेक्रममा पुनः बिहीबार बिहान खर्पेल गाउँका युवा समूहले खार्पुदोभानमा आफूहरुमाथि हातपात गर्न खोजेको मालिकादेवी सामुदायिक वनका अध्यक्ष मन्दिर ऐडीले जानकारी दिनुभयो ।

उहाँले बिरामी लिएर आउनेक्रममा खार्पुदोभानमा आफूहरुलाई हातपात गर्न खोजेको जनाउँदै खार्पु प्रहरीचौकी नभएको भए आफूहरुलाई झन् समस्या निम्तिने अवस्था रहेको बताउनुभयो ।

झडपमा घाइते भएका बिरामी लिएर आएको समूहमाथि हातपात गर्न खोज्दा बिहीबार बिहान प्रहरीले उनीहरुलाई लखेटेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

मालिकादेवी सामुदायिक वनका पदाधिकारीले केही दिनअगाडिमात्रै उक्त वन क्षेत्रको पूर्वमा भीमदुला, पश्चिममा डाङ्गेडुङ्ग र स्याङ्गरी, उत्तरमा मोधे, पिरेउते, ठेग्ना र लाग्ना, दक्षिणमा थारेकोटभित्र जडीबुटी तथा वन पैदावार संकलन र निकासी गर्न प्रतिबन्ध लगाएका थिए ।