
विराटनगर । विराटनगरमा उपचार नपाएर एक ३० वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ ।
विराटनगर ६ सुकुम्बासी टोलकी महिलालाई प्रसूतिका लागि कोशी अस्पताल विराटनगरले भर्ना नलिएपछि बिहीबार बिहान करिब ४ बजे घरमै मृत्यु भएको हो ।
दुईपटक शल्यक्रियाबाट प्रसूति गराइसकेको हुँदा अब गर्न नसकिने भन्दै कोसी अस्पतालले भर्ना नलिएपछि उनको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।
दैनिक ज्याला मजदुरी गरी जीवनयापन गर्दै आएका शिवु ऋषिदेवले श्रीमती विमलालाई बुधबार बेलुका कोसी अस्पतालमा प्रसूतिका लागि लगेका थिए ।
तर अस्पतालले उपचार गर्न नसक्ने र घरमै फिर्ता लैजान भनेपछि ऋषिदेवले बुधबार राति श्रीमतीलाई घर फर्काएका थिए । सोही क्रममा बिहीबार बिहान ४ बजे उनको मृत्यु भएको हो ।
हिजो नै विराटनगरको विभिन्न ६ वटा अस्पतालले उपचार गर्न नसक्ने जनाएपछि खोटांगको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ८१ वर्षिय डिगबहादुर राई पनि विराटनगरबाट हेलिकोप्टर चाटर्ड गरि घर फर्कनुपरेको थियो ।
यसअघि मोरङ कानेपोखरी गाँउपालिकाकी २३ वर्षीया सविना थापा, उदयपुर चौदण्डीगढी नगरपालिकाकी ६५ वर्षीया डम्बरकुमारी बस्नेत, उदयपुरकै २३ वर्षीया पदम राई, मोरङ पथरीशनिश्चरेकी ६२ वर्षीया सानकुमारी राईको विराटनगरका अस्पतालहरुले उपचार सेवा दिन नसक्दा मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्