
काठमाडौं, भदौ २६ । काठमाडौं उपत्यकाका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर कोरोना नियन्त्रणका लागि भए/गरेका कामको अनुगमन गर्न संसदीय समिति गठनको माग गरेका छन् ।
कोरोनाका कारण उपत्यकालगायत देशभरको जनजीवन प्रभावित बनेको भन्दै उनीहरुले शुक्रबार सभामुखलाई भेटेर छुट्टै संसदीय समिति गठनको माग गरेका हुन् ।
अहिलेको अवस्थामा संसदमा रहेका समितिहरुको छुट्टा-छुट्टै बैठक बसेर आवश्यक निर्णयहरु भएपनि प्रभावकारी नदेखिएकाले छुट्टै समिति गठनका लागि माग गरिएको सांसद भीमसेनदास प्रधानले बताउनुभयो ।
संसदमा १६ समिति भएपनि भूमिका प्रभावकारी नभएकाले सभामुखको नेतृत्वमा सरकारलाई राय सुझाव दिने र अनुगमन गर्ने सबैको प्रतिनिधित्व हुनेगरी संसदीय समिति बनाउनुपर्ने माग गरिएको उहाँले बताउनुभयो ।
सांसद राजेन्द्र श्रेष्ठले कोरोना महामारी संकटको सामना गर्न सर्वपक्षीय संयन्त्रको आवश्यकता भएपनि सरकारले त्यतातिर ध्यान नदिएकाले संसदीय समितिको आवश्यकता देखिएको बताउनुभयो ।
सभामुख सापकोटाले सकारात्मक प्रतिक्रिया दिएको सांसद प्रधानले बताउनुभयो ।
ऐन, नियममा टेकेर सबै दलहरुको सहमतिमा संसदीय समिति निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता सभामुख सापकोटाले गर्नुभएको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्