
काठमाडौं, भदौ २६ । नेपालमा कोरोना संक्रमितको संख्या करिब ५२ हजार पुगेको छ ।
दैनिक थपिएका एक हजार बढी संक्रमितमध्ये कुल संक्रमित संख्याको झन्डै ५० प्रतिशत काठमाडौ उपत्यकाका छन् । शुक्रबारमात्र उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण डरलाग्दो ढंगबाट फैलिँदै रहेको छ । साउन महिनायता बढ्दै गएको संक्रमणको दर नरोकिने हो भने अवस्था भयावह बन्ने देखिएको छ ।
निषेधाज्ञाको तीन सातासम्म पनि संक्रमितको संख्यामा कुनै कमी आउन सकेन ।
उपत्यकामा भदौ महिनादेखि बढ्न थालेको संक्रमितको संख्या अहिले १० हजार ७१० पुगेको छ । साउन ७ गते यतामात्रै १० हजार ३२६ जना संक्रमित भेटिएका छन् ।
भदौ ३ गते निषेधाज्ञा जारी भएपछिको तीन सातामा उपत्यकामा झन्डै आठ हजार संक्रमित थपिएका छन् ।
संक्रमणको दर घटाउन र ‘कन्ट्याक्ट ट्रेसिङ’ बढाइ संक्रमण फैलन नदिन निषेधाज्ञा जारी भएपनि संक्रमितको संख्या कम हुनसकेको छैन ।
निषेधाज्ञा खोल्ने निर्णय भएको २४ गते नै ४६४ जनामा संक्रमण देखिएको थियो भने २५ गते ५७२ जनामा संक्रमण देखिएको थियो ।
शुक्रबार अहिलेसम्मकै बढी संक्रमित भेटिएका छन् । शुक्रबार काठमाडौंमा ६९६ जनामा संक्रमण देखिएको छ । संक्रमण भेटिएकामध्ये ३५ प्रतिशतमा लक्षण देखिएको छ ।
निषेधज्ञा भएको पहिलो साता भदौ १० गतेसम्म दुई हजार ५७ जना, दोस्रो ११ देखि १८ सम्म दुई हजार ६६३ र तेस्रो सातामा भदौ १९ देखि २४ सम्म दुई हजार ४०२ जनामा संक्रमण देखिएको छ ।
उपत्यकामा संक्रमण देखिएकामा काठमाडौंमा सबैभन्दा धेरै आठ हजार ७२६ जना, ललितपुरमा एक हजार ९२ जना र भक्तपुरमा ८९० जना संक्रमित रहेका छन् ।
तीन सातासम्म जारी निषेधाज्ञाको समयमा पनि संक्रमितको संख्या नघट्नुले संक्रमणले भयावह रुप लिने देखिएको छ ।
बढ्दो जनघनत्व रहेको उपत्यकामा संक्रमण समुदायमा फैलिएका कारण संक्रमितको संख्या दिनानुदिन बढिरहेको विज्ञहरुको भनाइ छ ।
यसर्थ, यो गम्भीरतालाई बुझी महामारी रोकथाम र नियन्त्रणमा नयाँ रणनीति अवलम्बन गर्नु आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्