१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रोजगारीका लागि फेरि भारततर्फ : निधारमा रातो टीका र हातमा झोला बोकेकाहरुको लस्कर


0
Shares

कञ्चनपुर । कोरोना संक्रमणका कारण भारतका विभिन्न शहरबाट घर फर्किएका नेपालीहरु तीन महिना नबित्दै रोजगारीका लागि फेरि भारत जान थालेका छन् ।

यसअघि नेपाली नागरिकताको प्रमाणपत्र देखाएर स्वदेश फर्किएका उनीहरु अहिले भारतीय आधार कार्ड देखाएर गड्डाचौकी र गौरीफन्टा–त्रिनगर नाकाबाट भारत छिर्दैछन् ।

कोरोना महामारी उत्कर्षमा पुगिरहेका बेला पश्चिमी सीमानाका गड्डाचौकी र गौरीफन्टा–त्रिनगर नाकामा रोजगारीका लागि भारत जाने नेपालीको लर्को बढ्न थालेको हो ।

तीन महिनाअघि हप्तौंसम्म हिँडेर भारतका विभिन्न शहरबाट घर फर्किएका उनीहरु यतिबेला रोजगारीकै लागि फर्किन बाध्य छन् ।

कोरोनाका कारण गरिएको लकडाउनका बेला नेपाली नागरिकताको प्रमाणपत्र देखाएर स्वदेश फर्किएका उनीहरु अहिले भारतीय आधार कार्ड देखाएर सीमा पार गर्ने प्रयासमा छन् ।

निधारमा रातो टीका र हातमा झोला बोकेर नाकामा उभिएका कञ्चनपुरको शुक्लाफाँटास्थित जोनापुरका हरि भट्ट तीन महिना अघि मात्रै घर फर्किनु भएको थियो ।

उहाँको हातमा भएको झोला जति गह्रां देखिन्छ मन त्योभन्दा अझ गह्रौ छ । लकडाउनका बेला अनेक दुःखकष्ट सहँदै स्वदेश फर्केका भट्ट विगत २० वर्षदेखि भारतमै रोजगारी गर्नुहुन्छ ।

कोरोना भाइरसका कारण काम बन्द भएपछि घर फर्किनुभएका भट्टलाई पुनः काम खोज्दै भारत जाने मन त थिएन तर, कमाएर ल्याएको खर्चले परिवार पाल्न मुस्किल भएपछि उहाँ अहिले मन अमिलो बनाउँदै मुग्लान पस्दैहुनुहुन्छ ।

भट्ट मात्रै होइन महाकाली नगरपालिकाकी पार्वती सुनारको मन पनि उस्तै भारी छ । परिवारसहित कामको खोजीमा भारत जान लागेकी पार्वती पनि लकडाउन अघि घर फर्किनुभएको थियो ।

१२ वर्षदेखि भारतमै रोजगारी गरेर जहान परिवार पाल्दै आएकी उहाँलाई भारतमा बढ्दै गरेको कोरोना संक्रमणले त्रसित बनाए पनि नगइ नहुने बाध्यता छ ।

अर्को विकल्प नहुँदा परिवार पाल्नकै लागि आफूहरु कोरोना कहरकै बीच भारत जानुपरेको उहाँ बताउनुहुन्छ । भट्ट र सुनार त प्रतिनिधि पात्र मात्रै हुन् ।

पश्चिमी नाकामा उनीहरुजस्तै दैनिक सयौं नेपालीहरु रोजगारीका लागि भारत जान लामबद्ध हुन्छन् ।

भारतमा लकडाउन खुकुलो भएसँगै कम्पनीहरु खुल्न थालेपछि रोजगारीका लागि नेपालबाट भारत जानेहरुको संख्या दैनिक रुपमा बढ्दै गएको कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीको भनाइ छ ।

चरम गरिबी र रोजगारीको अवसरको नपाएर छट्पटिएका नेपालीले कहिलेसम्म पेट भर्न थोरै पारिश्रमिकमा मुग्लान पसि रहनु पर्ने हो ?