२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पछिल्लो पटक कोरोनाबाट ललितपुरमा तीनसहित देशभर ६ जनाको मृत्यु


0
Shares

काठमाडौं । कोरोना संक्रमणका कारण देशका विभिन्न अस्पतालमा ६ जनाको मृत्यु भएको छ ।

ललितपुरमा तीन र रुपन्देही, कास्की र धनुषामा एक एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

ललितपुरको पाटन अस्पतालमा २ जना र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृत्यु हुनेमा दुई जना भक्तपुरका र एक जना काठमाडौंका हुन् ।

पाटन अस्पतालमा उपचाररत काठमाडौं निवासी ५१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ ।

यसैगरी ललितपुरकै पाटन अस्पतालमा उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ ।

यस्तै ललितपुरकै मेघा अस्पतालमा उपचार गराइरहेका भक्तपुर निवासी ३८ वर्षीय पुरुषको पनि आज बिहाने मृत्यु भएको छ ।

उता रुपन्देहीको ओमसतिया गाउँपालिका–५ का ४० वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा गएराति मृत्यु भएको हो ।

भदौ १४ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै धनुषामा जनकपुरधाम उपमहानगरपालिका–४ मुरली चोकका ६० वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ ।

त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का ८५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

आइसियूमा उपचाररत उनको आज बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।

यही भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएपछि ती पुरुषलाई अस्पताल भर्ना गरिएको थियो ।

त्यसैगरी भरतपुर अस्पतालमा मृत्यु भएका तीनमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण हुनेमा रत्ननगर नगरपालिका–२ का ४६ वर्षीय पुरुष रहेका छन् । उपचारका लागि अस्पताल आइपुग्दा बिहीबार राति उनको मृत्यु भएको थियो ।

मृत्यु पछि गरिएको नमूना परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो ।

अन्य दुई जनाको भने नतिजा नेगेटिभ आएको छ । यसअघि भदौ १४ गते अस्पतालको आकस्मिक कक्षमा उपचारकै क्रममा तीन जनाको मृत्यु भएको थियो ।