२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


दाहसंस्कारपछि कोरोना पुष्टि, रिपोर्ट नआउँदै अस्पतालले शव दिँदा २०० मलामी ‘क्वारेन्टिन’मा


0
Shares

पोखरा, भदौ २७ । पोखरामा कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घर भइ हाल पोखरा महानगरपालिका–५ निवासी ४५ वर्षीया महिलाको मृत्यु भएको हो ।

यस्तै, स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का ८५ वर्षीय पुरुषको पनि उपचारकाक्रममा पोखरामा मृत्यु भएको हो ।

ब्लड क्यान्सरबाट पीडित पोखराकी महिलाको तीन दिनदेखि फिस्टेल अस्पतालको ‘आइसीयू’मा राखेर उपचार हुँदै आएको थियो । शुक्रबार बिहान मृत्यु भएको हो ।

मृत्युपछि उनको स्वाबको नमुना परीक्षणका लागि पठाइएको थियो । तर, अस्पतालले कोरोनाको रिपोर्ट नआउँदै आफन्तलाई शव बुझायो ।

महिलाको शुक्रबारै अन्त्येष्टि गरियो । शनिबार कोरोनाको ‘रिपोर्ट पोजिटिभ’ आयो ।

जसका कारण अन्त्येष्टिमा मलामी गएका झन्डै २०० जना मानिस ‘क्वारेन्टिन’मा बस्नुपर्ने भएको छ ।

मलामीमा प्रदेश सांसदहरु, जनप्रतिनिधि, पत्रकार, पर्यटन व्यवसायीलगायत करिब २०० जना थिए ।

मृतकका आफन्तकाअनुसार अस्पतालले कोरोना नभइ अरु कारणले ज्यान गएको भनी दाहसंस्कार गर्न सकिने विश्वास दिलाएपछि शव बुझेर शुक्रबार नै पोखराको सेती नदी किनार रामघाटमा अन्त्येष्टि गरिएको थियो ।

यस्तै, स्याङ्जाका ८५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा शनिबार बिहान मृत्यु भएको हो ।

योसहित कोरोना संक्रमणबाट गण्डकी प्रदेशका २४ जनाले ज्यान गुमाएका छन् ।

गण्डकीमा गएको २४ घन्टामा प्रदेशमा थप ८३ जनामा संक्रमण देखापरेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै प्रदेशमा कुल कोरोना संक्रमितको संख्या दुई हजार ९०३ पुगेको छ ।