१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


वाग्मती किनारमा गुर्जो रोप्ने अभियान


0
Shares

काठमाडौं, भदौ २७ । रोगप्रतिरोधी क्षमता विकास गर्ने बहुपयोगी आयुर्वेदिक वनस्पति गुर्जो रोप्नेक्रम बढ्न थालेको छ ।

अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालय रहेको गुह्येश्वरी परिसरमा शनिबार १५० गुर्जोका बिरुवा रोपिएको छ ।

गुर्जोरोपण कार्यक्रममा सांसद कृष्ण राई, पूर्वमुख्यसचिव एवं लीलामणि पौडेललगायत वाग्मती सफाइ अभियानकर्मी पनि सहभागी हुनुभएको थियो ।

आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले सरकारी निवास परिसरमा गुर्जोको बिरुवा उत्पादन गरी देशव्यापीरुपमा वितरण सुरु गर्नुभएको छ ।

अधिकारसम्पन्न वाग्मतीको कार्यालयमा पनि उहाँले बिरुवा उपलब्ध गराउनुभएको सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो ।

राजलवटले नै उपलब्ध गराउनुभएको एक हजार गुर्जोका बिरुवा वाग्मतीको गोठाटारमा पुलमा शनिबार बिहान वितरण गरिएको छ ।

वाग्मती सुन्दरता सरोकार मञ्च र मानवअधिकार तथा शान्ति समाजले नदी किनारका बस्तीमा रोप्न एक हजार बिरुवा वितरण गरेको अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो ।

सुन्दरीजलबाट बानेश्वरसम्मको नदी किनारका बस्तीमा गुर्जो वितरण गर्ने अभियानमा मञ्च लागेको पनि उहाँले जानकारी दिनुभयो ।

घरघरमा गुर्जोको बिरुवा पुर्‍याउने अभियानमा लाग्नुभएका राजलवट आफूले ११ वर्षदेखि नियमितरुपमा सेवन गर्दा फाइदा पुगेकाले प्रचारप्रसारमा लागेको बताउनुहुन्छ ।

गुर्जोको नियमित सेवनपछि आफूले निरोगी अनुभव गरेको उहाँले जानकारी दिनुभयो ।

मधुमेह रोगबाट पीडित भएकाले नियमितरुपमा गुर्जोको सेवन गरेमा अन्य औषधि खानु नपर्ने आफैंले अनुभव गरेपछि सामूहिकरुपमा बिरुवा वितरण अभियानमा लागेको पुडासैनी बताउनुहुन्छ ।

गुर्जोले मानव शरीरमा रोगप्रतिरोधी क्षमताको विकास, शारीरिक क्षमतामा बढोत्तरी गर्नाका साथै शरीरभित्र जमेका विकारलाई बाहिर निकाली मानिसलाई स्वस्थ बनाउँछ ।

विश्वव्यापीरुपमा कोरोनाभाइरस फैलिएका बेला शरीरभित्र रोगप्रतिरोधी क्षमता बढाउन यसको नियमित सेवन उपयोगी भएको अनुभव प्रयोगकर्ताको छ ।

रुघा, खोकी, ज्वरो, रगतको कमी, आँखा, कान, छाला, पाइल्सजस्ता रोग निको गर्न पनि गुर्जो उपयोगी प्रमाणित भएको अभियानकर्मी राजलवट बताउनुहुन्छ ।

गर्भवतीले भने गुर्जोका प्रयोग गर्नु हुँदैन भने पाँच वर्षमुनिका बालबालिकालाई पनि सेवन नगराउनु राम्रो हुन्छ ।

डाँठ र पात दुवै प्रयोग गर्न सकिने गुर्जो सुकाएर वा काँडापानी बनाएर दुवैरुपमा उपयोग गर्न सकिन्छ ।

आयुर्वेद शास्त्रले भनेको ‘यस्य देशस्य यो जन्तो : तस्य तद् औषधं हितम्’ अर्थात् ‘जुन स्थानमा मानिस रहन्छ, त्यसलाई त्यहीँ उम्रने वनस्पतिले औषधिको काम गर्छ, भनेझैं गुर्जोले नेपालीको स्वास्थ्य रक्षामा काम गर्ने अनुभव प्रयोगकर्ता गरेका छन् ।

हालसम्म राजलवटले देशभर ६० हजार गुर्जोका बिरुवा वितरण गर्नुभएको छ ।

राजधानीका विभिन्न नगरपालिकामा समेत गुर्जो वितरण गरिएको उहाँले जानकारी दिनुभयो । नगरपालिकामार्फत् राजधानीबासीका घरघरमा गुर्जोरोपण अभियान विस्तार गरिने जनाइएको छ ।