१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


इँटा उद्योगका श्रमिक समस्यामा, छुट्टै मापदण्ड बनाएर सञ्चालन गर्न दिनुपर्ने माग


0
Shares

काठमाडौं, भदौ २७ । कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘लकडाउन’ सुरु भएयता निर्माण क्षेत्र ठप्प छ ।

जसका कारण देशभर हजारौंको संख्यामा रहेका उद्योगहरु बन्द रहे । त्यसको असर उद्योगीहरुमा मात्र नभएर श्रमिकहरुमा पनि परेको छ ।

लकडाउन खुलेपछि पनि निर्माणका गतिविधि कम हुँदा व्यापार न्यून भएकाले झनै समस्या बढेको उद्योगीहरु बताउँछन् ।

कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन आदेश जारी हुँदा निर्माण क्षेत्रका इँटा उद्योग, क्रसर उद्योगलगायतका उद्योगहरु पनि बन्द रहे ।

तरपनि कोभिड-१९ संक्रमणको असर परेको क्षेत्रहरुमा यी क्षेत्र पर्दैनन् । जसको मुख्य कारण निर्माण क्षेत्र कुनै न कुनैरुपमा सञ्चालन भइरहेको छ भन्ने हो ।

निर्माण क्षेत्रका लागि आवश्यकक मुख्य कच्चापदार्थ यिनै इँटा उद्योग र क्रसर उद्योगबाट आपूर्ति हुन्छ । त्यसैलेपनि यो क्षेत्रमा त्यति ठूलो असर परेको छैन ।

तर, निर्माण उद्योगीहरु भने त्यसमा सहमत छैनन् । अरु क्षेत्रमा परेको असरको प्रभाव निर्माण क्षेत्रमा पनि पर्ने क्रसर उद्योगी श्यामराज खड्का बताउनुहुन्छ ।

उहाँले कोभिडको असर वैदेशिक रोजगारीमा परेको र रेमिट्यान्समा कमी आउँदा निर्माणका कामपनि कम हुन गइ निर्माणजन्य उद्योगहरुमा असर पर्ने बताउनुभयो ।

उहाँले रेमिट्यान्समा ३० प्रतिशते कमी आएमा निर्माण क्षेत्रको व्यापारमा पनि ३० प्रतिशतले नै कमी आउने बताउनुभयो । त्यसैले सरकारले क्रसर उद्योग सञ्चालनमा सहजीकरण गर्नुपर्ने खड्काको भनाइ छ ।

यस्तै, इँटा उत्पादक संघका अध्यक्ष नातिभाइ हेम्वाले पनि लकडाउन सुरु भएपछि इँटा उत्पादन ठप्प भएको बताउनुभयो । काँचो इँटा पोल्नेबाहेकका कुनै काम हुन नसेको उहाँको भनाइ छ । उहाँले अहिले बजारमा समेत इँटाको माग नभएको बताउनुभयो ।

अहिले उत्पादन भएको इँटा बिक्री नभएकाले अर्को सिजनको मागलाईसमेत धान्नसक्ने इँटा आफूहरुसँग रहेको हेम्वाले बताउनुभयो ।

तर, अहिलेको स्थितिमा उद्योग सञ्चालन गर्न चुनौती रहेको उहाँको भनाइ छ ।

विभिन्न जिल्लाबाट आउने श्रमिकहरुको व्यवस्थापन उद्योगीहरुका लागि मुख्य चुनौती रहेको उहाँले बताउनुभयो ।

भक्तपुर जिल्लामा सञ्चालित ६२ ओटा इँटा उद्योगमा करिब ३५ हजार कामदार कार्यरत् छन् । विभिन्न जिल्लाबाट र भारतबाटसमेत कामदार ल्याउनुपर्ने भएकाले कोभिड १९ संक्रमणको व्यवस्थापनमा चुनौती रहेको अध्यक्ष हेम्वाले बताउनुभयो ।

कामदारहरु विभिन्न उद्योगमा पालैपालो काम गर्न जानुपर्ने भएकाले उद्योगभित्रै क्वारेन्टिनमा राख्नसमेत सम्भव नहुने व्यवसायीहरु बताउँछन् । त्यसैले सरकारले इँटा उद्योगीहरुका लागि छुट्टै मापदण्ड बनाएर सञ्चालन गर्न दिनुपर्ने उहाँले बताउनुभयो ।