
काठमाडौं, भदौ २७ । नेपालको हिमालय क्षेत्रमा रहेका केही हिमतालहरु फुट्ने जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् ।
जलवायु परिवर्तनको कारण नेपालका २१ ओटा हिमतालहरु फुट्ने खतरा रहेकोले सतर्कता अपनाउन विज्ञहरुको सुझाव दिएका हुन् ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र र राष्ट्रसंघीय विकास कार्यक्रमले सार्वजनिक गरेको प्रतिवेदनले हिमताल फुट्ने खतरा रहेको देखाएको हो ।
०.०२ वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफल ओगट्ने १४ सय बढी हिमताल रहेकोमा नेपालका २१ ओटा तालहरु जोखिममा रहेको इसिमोडका वरिष्ठ जलवायुविज्ञ डा. अरुण श्रेष्ठले बताउनुभयो ।
त्यसमध्ये नेपालका च्छो रोल्पा र इम्जा हिमताल खतरामा रहेका छन् ।
प्रतिवेदनले नेपालबाहेक तिब्बती क्षेत्र र भारतमा समेत गरी ४७ ओटा हिमताललाई खतराको सूचीमा रखेको छ ।
नेपालमा सबैभन्दा बढी कोसी बेसिन तथा तीनओटा गण्डकी र दुईओटा कर्णाली बेसिनका रहेको प्रतिवेदनमा उल्लेख छ ।
तिब्बत क्षेत्रमा २५ र भारतमा एकओटा हिमताल यस्तो खतरामा रहेका छन ।
कहिले फुट्न सक्छन् भनेर मिति तोक्नसक्ने अवस्था नभएपनि तालको बनावट, पानीको आयतन, वरिपरिको संरचना र तटीय क्षेत्रमा रहेका बस्ती तथा संरचनाहरु जोखिममा रहेकोले सतर्क रहन उहाँले आग्रह गर्नुभयो ।
तालहरूको प्राकृतिक बाँध, स्रोत हिमतालको गतिविधि तथा वरिपरिको अवस्थाको अध्ययन गरी फुट्ने खतरा देखिएको हो ।
मौसमको अवस्था, भौगर्भिक अवस्था र हिमताल वरपर हुने मानवीय गतिविधिलाई अध्ययन नगरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
हिमतालहरु फुटेमा पहाडी क्षेत्रमा पानीको गति तीव्र हुने र यसले बाढीको खतरा निम्त्याउने छ । नेपालको जलविद्युत् क्षेत्रमा पनि यसले असर गर्ने सम्भावना छ ।
अध्ययनकाक्रममा कोसी, गण्डकी र कर्णाली बेसिनमा तीन हजार ६२४ ओटा हिमताल पाइएको प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये दुई हजार ७० ओटा नेपाल, एक हजार ५०९ ओटा तिब्बत र ४५ ओटा भारतमा पाइएका छन् ।
प्रतिक्रिया दिनुहोस्