२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सिन्धुपाल्चोकका विभिन्न स्थानमा पहिरो, कम्तिमा १२ जना मानिस बेपत्ता


0
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा गएराति आएको बाढी पहिरोको दर्जनौ घरहरु पुरिएका छन् भने कम्तिमा १२ जना मानिस बेपत्ता भएक छन् ।

जिल्लाको बाह्रविसे नगरपालिकाका भिरखर्क, नागपुजे र चाङसार भन्ने स्थानमा पहिरोमा घरहरु पुरिएको बुझिएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको जानकारी दिनुभयो ।

गएराति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएको हो । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो ।

बलेफी र जलविरेमा जलसतह सतर्कता तहसम्म पुगेको र यो बढ्दो क्रममा रहेको केन्द्रले जनाएको छ ।

साथै भोटेकोशी, इन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका अन्य साना नदीमा आकस्मिक बहाव हुन सक्ने र पहिरो जान सक्ने भएकाले आज बिहान १० बजेसम्म सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।

सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ ।

गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।