
काठमाडौं । राष्ट्रिय बाल दिवस २०७७ का अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीलगायतका नेताहरुले शुभकामना व्यक्त गर्नुभएको छ ।
दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारी निकाय, राष्ट्रिय तथा अन्तरारष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज र अभिभावक संवेदनशील हुनुपर्ने बताउनुभएको छ ।
उहाँले बालअधिकार सुनिश्चित गर्न राष्ट्रिय कानून तथा विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता तथा प्रतिबद्धतामा रहेका प्रावधानको प्रभावकारी कार्यान्वयन गर्नु राज्यको दायित्व भएको स्पष्ट पार्नुभएको छ ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हक र हितको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।
उहाँले नेपालको संविधानमा मौलिक हकका रुपमा रहेको बालबालिकाकासम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको बताउनुभएको हो ।
‘बालबालिकामाथि हुने सबै किसिमका हिंसा, बेचबिखन तथा जघन्य घटनाका अपराधीहरुलाई कानुनी दायरामा ल्याई कडा सजाय दिने र बालबालिकाहरुलाई संरक्षण, सुरक्षा र अभिभावकत्व प्रदान गर्न सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले बालबालिकाको शारीरिक र मानसिक विकासका लागि सन्तुलित आहार, स्वच्छ उपयुक्त आवास, उपयुक्त प्रविधि प्रयोगसहितको स्तरीय शिक्षा, देशभक्ति, मानवता, सामाजिकता, उद्यमशीलता र रचनात्मकताको भावधारा जगाउने गुणवत्त शिक्षादीक्षाको अधिकार सुनिश्चित गर्ने सरकारको नीति रहेको प्रष्ट पार्नुभएको छ ।
यस वर्षको सो दिवस ‘विपद्मा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ आज मनाइँदै छ ।
प्रतिक्रिया दिनुहोस्