१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पाइपलाइनबाट तेल आयात गर्दा ढुवानी बापत एक अर्ब रुपैयाँ बचत


0
Shares

काठमाडौं । पेट्रोलियम पाइपलाइनबाट तेल आयात गर्दा मुलुकमा पछिल्लो एक वर्षमा ढुवानी बापतको एक अर्ब रुपैयाँ बचत भएको छ ।

भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाट डिजेल ढुवानी हुँदा एक अर्ब रुपैयाँ बचत भएको हो ।

पाइपलाइनबाट एक वर्षमा ५३ करोड ४१ लाख लिटर डिजेल आयात भएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

पाइपलाइनबाट डिजेल ढुवानी गर्दा प्रतिलिटरमा दुई रुपैयाँका दरले ढुवानी बापतको एक अर्ब रुपैयाँ बचत भएको निगम प्रवक्ता वीनितमणि उपाध्यायले बताउनुभयो ।

एक वर्षमा ५३ करोड ४१ लाख लिटर डिजेल आयात भएको छ । नेपाल र भारतको संयुक्त लगानीमा बनेको अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालन भएको एक वर्ष पूरा भएको छ ।

गत वर्ष भदौ २४ देखि नियमितरुपमा पाइपलाइनमार्फत डिजेल आयात भइरहेको निगमले जानकारी दिएको छ ।

पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आपूर्ति गर्दा ढुवानी भाडामा एक अर्ब रकम बचत भएर पेट्रोलियम पदार्थको गुणस्तरमा सुनिश्चित, प्रदुषण न्युनिकरण सहयोग र रक्सौल नकामा हुने ट्राफिक जाममा समेत हटेको निगमको भनाइ छ ।

भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म ६९ दशमलव २ किलोमिटर दूरीमा पाइपलाइन बिछ्याइएको छ ।

सोही परिणामको डिजेल आयात गर्दा यस अघि हुने ढुवानी तथा तापक्रम नोक्सानी बापतको झण्डै एक अर्ब रुपैयाँ जोगिएको निगमले जनाएको छ ।

प्रतिघण्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने क्षमता रहेको छ ।

एक वर्षमा दुई लाख ६७ हजार ट्यांकर बराबरको डिजेल पाइपलाइनमार्फत भित्रिएको निगमको अमलेखगञ्ज डिपोले जनाएको छ ।