
बारा । बारामा निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माण स्थलमा रुख र पोलको संख्या गणना गर्ने काम थालिएको छ ।
विमानस्थल आयोजना क्षेत्रमा २४/२५ लाख रुख काटिने भनेर गरिएको गलत प्रचार गरिएको भन्दै आयोजनाले रुख र पोलको संख्या गणना गर्न थालेको हो ।
विमानस्थलको विषय सर्वोच्च अदालतमा विचाराधीन भएकाले अदालतले पनि रुख र पोलको संख्या कति छ भनेर तथ्यांक मागे उपलब्ध गराउन सहज हुने भन्दै आयोजनाले गणना गर्ने काम गरेको हो ।
पहिलो रनबे र टर्मिनल भवन निर्माणका लागि सरकारले छुट्याएको ८ हजार ४५ हेक्टर भू–भागको तल्लो क्षेत्रमा १९ सय हेक्टरभित्र रहेका रुख र पोलको गणना भइरहेको हो आयोजनाको सिमरा कार्यालयका निमित्त प्रमुख विजय यादवले बताउनुभयो ।
उहाँले विमानस्थलको पहिलो चरण अन्तरगतको चार किल्लाको भू–भागमध्ये दक्षिणबाट उत्तरतर्फका २५ हजार ६०० वटा रुख र पोलको गणना भइसकेको जानकारी दिनुभयो ।
साल प्रजातिका ३२ सेन्टिमिटरभन्दा बढी गोलाइका रुखको गणना गरीसकेको र सो भन्द कम गोलाइका साना रुखको गणना डिभिजन वन कार्यालय बाराको प्राविधिकसहितको छुटाछुट्टै टोलीले गरीरहेको आयोजनाले जनाएको छ ।
नम्बर प्लेट, ट्याग गरी रुखको गोलाई, जिपिएस् प्वाइन्ट, प्रजाती र रुखको ग्रेडलगायत छुटयाउने काममा ३ करोड खर्च लाग्ने आयोजना कार्यालयले जनाएको छ ।
प्रस्तावित विमानस्थलको ८ हजार ४५ हेक्टर क्षेत्रफलमा ११० विघा नम्बरी जग्गाबाहेक सम्पूर्ण भाग राष्ट्रिय वन, तामागढी साझेदारी र सहजनाथ साझेदारी वन क्षेत्रको भू–भाग पर्दछ ।
विमानस्थलको भू–भागमध्ये टाँगियावस्तीमा मात्रै १४ सय ३९ घरधुरी, काँटगाँउमा ११० घरधुरी र मटियानीमा ४८ घरधुरी बसोबास गर्दै आएका छन् ।
टाँगियावस्ती स्थान्तरण व्यवस्थापनमा भएको ढिलाइ आयोजनाको मूल समस्याको विषय बनेको छ ।
प्रतिक्रिया दिनुहोस्