
पोखरा, भदौ २९ । पोखरा महानगरपालिकाले नापी कार्यालय कास्कीको सहयोगमा तयार पारेको फेवातालसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको छ ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगी प्रधानमन्त्री ओलीलाई प्रतिवेदन हस्तान्तरण गर्नुभएको छ ।
प्रतिवेदनमा फेवातालको ऐतिहासिक पृष्ठभूमिदेखि वर्तमानसम्मको अवस्था समेटिएको छ ।
त्यस्तै, फेवातालसम्बन्धी मापदण्ड क्षेत्रमा पर्ने जग्गाको विवरण, भौतिक संरचना र अनुमानित मुआब्जालाईसमेत प्रतिवदेनमा उल्लेख गरिएको छ ।
सर्वोच्च अदालतको फेवातालसम्बन्धी फैसला कार्यान्वयन तथा फेवातालको दीर्घकालीन संरक्षणका लागि पोखरा महानगरपालिकाले अध्ययन प्रतिवेदन तयार पारेको हो ।
प्रतिवेदन हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश बराल, नापी कार्यालय कास्कीका प्रमुख खिमराज गौतमलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्