१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


क्रिकेट खेलाडी ललितको उपचार ग्रान्डीमा


0
Shares

काठमाडौं, भदौ २९ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

आइतबार साँझ कञ्चनपुरको झलारीमा दुर्घटनामा पर्नुभएका भण्डारीको थप उपचार काठमाडौंस्थित ग्रान्डी अस्पतालमा हुने भएको छ ।

उहाँलाई सोमबार बाँकेको कोहलपुर मेडिकल कलेजबाट हेलिकोप्टरमा ग्रान्डी ल्याइएको हो ।

धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से१ख १३२४ नम्बरको मिनिट्रकले आइतबार साँझ कञ्चनपुरको झलारी बजारमा भण्डारीले चलाएको म२प ४७०५ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो । भण्डारीको दाहिने खुट्टा र दाहिने हात भाँच्चिएको छ ।

भण्डारीको छाती र अन्य भागमा समेत चोट भएकाले थप उपचारका लागि काठमाडौं ल्याउनुपरेको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० का बासिन्दा भण्डारी महेन्द्रनगरबाट घर फर्किंदा दुर्घटनामा पर्नुभएको हो । उहाँको पछाडि सवार करन ठगुन्ना भने सामान्य घाइते हुनुहुन्छ ।

दुर्घटनालगत्तै झलारीस्थित शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि भण्डारीलाई थप उपचारका लागि धनगढी लगिएको थियो ।

उहाँलाई राति नै बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी विनोद भण्डारीले जानकारी दिनुभयो ।

ठक्कर दिने मिनिट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक घटनालगत्तै फरार रहेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो ।

भण्डारी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसक्नुभएका बायाँहाते तीव्रगतिका बलर हुनुहुन्छ । पछिल्लो समय उहाँ नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आउनुभएको थियो । भण्डारी ‘फ्रेन्चाइज’ लिगका पनि नियमित खेलाडी हुनुहुन्छ ।

उहाँले सन् २०१७ मा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् संयुक्त अरब इमिरेटस् (यूएई)विरुद्ध राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गर्नुभएको थियो ।

भण्डारीले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय खेल खेल्नुभएको थियो । त्यसअघि, उहाँले नपालका लागि विभिन्न उमेर समूहका प्रतियोगिता खेलिसक्नुभएको छ ।