
काठमाडौं । बाह्रबिसे नगरपालिका ७ घुम्थाङको भीरखर्क र नागपुजे बस्ती नै बगाउने गरी गएको पहिरोमा पुरिएकाको खोज र उद्धारमा समस्या भएको छ ।
घरायसी साधन पीक, कुट्टो, कोदालो र सावेलबाट खोजबिन गर्दा वेपत्ताको खोजीमा समस्या भएको हो ।
ठूलो पहिरो गएकाले यी परम्परागत सामाग्रीबाट मात्रै वेपत्ताको खोज उद्धारमा समस्या र ढिलाइ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
पहिरोले कच्ची सडकमा समेत क्षति पुर्याएपछि स्काभेटर लान सकिएको छैन् । डीएसपी सापकोटाका अनुसार आज बिहानसम्ममा स्काभेटर लान सकिन्छ कि भनेर प्रयास भइरहेको छ ।
हिजो बिहान दुइ जनाको शव निकालेको सुरक्षाकर्मीको टोलीले दिउँसो थप एक पुरुषको मात्रै शव निकालेको डीएसपी सापकोटाले बताउनुभयो ।
हिजो दिनभर अविरल वर्षा भइरहेको र पहिरो आउने जोखम रहेकाले सुरक्षाकर्मीले वेपत्ताको खोजीमा ढिलाइ भएको हो ।
गत २६ गते राति गएको पहिरोमा परि पुरिएका ३१ मध्ये १४ जनाको शव निकालिएको छ भने अझै १७ जना वेपत्ता रहेका छन् ।
वेपत्ताहरुको खोजीका लागि नेपाल प्रहरीका ४० जना, शसस्त्र प्रहरीका १५ जना र सेनाका ४० जना खटिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्