
काठमाडौं, भदौ ३० । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललितसिंह भण्डारीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।
काठमाडौंको ग्रान्डी अस्पतालमा उपचाररत् ललितको अवस्था सोमबारको तुलनामा निकै सुधारिएको चिकित्सकलाई उद्धृत गर्दै राष्ट्रिय टिमका पूर्वकप्तान तथा क्रिकेट खेलाडी संघ (सिप्यान)का महासचिव पारस खड्काले जानकारी दिनुभयो ।
आइतबार साँझ धनगढीबाट महेन्द्रनगर जाँदै गरेको ट्रकको ठक्करबाट ललित सवार मोटरसाइकल कञ्चनपुरको झलारीमा दुर्घटनामा परेको थियो ।
सोमबार हेलिकोप्टरबाट काठमाडौं ल्याइ ग्रान्डी अस्पतालको ‘आइसीयू’कक्षमा ललितको उपचार भइरहेको छ ।
स्थिति सामान्य बनेपछिमात्र हात र खुट्टाको शल्यक्रिया गरिने चिकित्सकले जानकारी दिएको पनि खड्काले बताउनुभयो ।
ललितको उपचारको खर्च नेपाल क्रिकेट संघ (क्यान)ले व्यहोर्ने बताएको छ । त्यस्तै, राष्ट्रिय खेलकुद परिषद (राखेप)ले पनि सघाउने बताएको छ ।
यता, ललितको उपचारका लागि सिप्यानले आर्थिक संकलन थालेको छ । सिप्यानले सेञ्चुरी कमर्सियल बैंकको ००१०००२५२९ ‘सीए’ खातामा सहयोग रकम जम्मा गर्न सकिने जनाएको छ ।
सिप्यान महासचिव खड्काले क्यान र राखेपले सघाउने जनाएपनि यस्तो बेलामा सबैले मिलेरै सघाउने उद्देश्यले नै आफूहरु पनि अग्रसर भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्