१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मेलम्चीको ‘हेडबक्स’ निर्माण झन्डै ७० प्रतिशत सकियो


13
Shares

काठमाडौं, भदौ ३० । मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण झन्डै ७० प्रतिशत सकिएको छ ।

हेडबक्स निर्माण सम्पन्न गर्ने अवधि झन्डै आठ महिना बाँकी हुँदा निर्माण अघि बढिरहेको हो ।

आयोजनाको बाँकी काम सम्पन्न गर्नेगरी गत वर्ष सरकारले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता गरेको थियो ।

सोही सम्झौताका आधारमा कम्पनीले ‘हेडबक्स’ निर्माणसमेत अघि बढिरहेको छ ।

निर्धारित अवधि आगामी वैशाखसम्ममा निर्माण सम्पन्न भइसक्ने खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताउनुभयो ।

उहाँले भन्नुभयो-‘यही गतिमा काम भइरहँदा समयमै सकिने देखिन्छ ।’

सुरुङ निर्माण सकिएर परीक्षणकाक्रममा दुर्घटना भएपछि अहिले यसको गेटमा रहेको त्रुटि सच्याउने काम भइरहेको छ ।

आगामी मंसिर, पुससम्ममा त्रुटि सच्याउने काम सकिएर पुनः सुरुङको परीक्षण हुने उहाँले बताउनुभयो ।

सो समयमा पनि ‘हेडबक्स’ निर्माण नसकिने हुँदा अस्थायी बाँधबाट नै पानी पठाइनेछ । परीक्षणका लागि र नियमित पानी पठाउन केही समयसम्म अस्थायी बाँधबाटै पथान्तरण हुने बताइएको छ ।

उहाँले भन्नुभयो-‘हेडबक्स सकिएपछिमात्रै त्यसबाट पठाइनेछ ।’

दुई दशकपहिले निर्माण सुरु भएको सो आयोजनाका अन्तिम काम भइरहेको छ ।

आयोजनामा यसअघि काम गरेको इटालियन निर्माण कम्पनी ‘सीएमसी’ले आयोजना अलपत्र छाडेर गएपछि सरकारले गत वर्ष असोजमा बाँकी काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको थियो ।

आयोजनामा यसअघि नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भइसकेको छ ।