
इस्लामावाद, भदौ ३० । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्ने बताउनुभएको छ ।
उहाँले ‘अल जाजिरा’सँगको अन्तर्वार्ताकाक्रममा सो धारणा राख्नुभएको जनाइएको छ ।
उहाँले त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुन्ड्याउनुपर्ने र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिकरुपमा नै देखाउनुपर्ने बताउनुभयो ।
सो अन्तर्वार्ताकाक्रममा उहाँले सो धारणा राख्नुभएको अल जाजिरा मिडियाले जानकारी दिएको छ ।
उहाँले बलात्कारीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने धारणा राख्नुभएको हो ।
पाकिस्तानमा गत हप्ता एक महिला उनका आफ्ना बच्चाकै अगाडि लाहोरको एक सडकमा सामूहिक बलात्कृत भएकी थिइन् ।
त्यसपछि पाकिस्तानमा बलात्कारीलाई गर्ने कारबाहीको विषयलाई लिएर विभिन्नखालका प्रतिक्रियाहरु आइरहेका छन् ।
यसै विषयमा प्रधानमन्त्री खानलाई पनि पाकिस्तानमा बलात्कारमा संलग्न हुने व्यक्तिलाई के-कस्तोखालको कारबाही गर्नुपर्छ ? भनी सोधिएको प्रश्नमा सो जवाफ दिनुभएको हो ।
गत हप्ता पञ्जाब प्रान्तको लाहोर सहरनजिकै आफ्नो कारमा रहेकी ती महिलालाई जबर्जस्ती कार रोकेर उनको कारमा समेत तोडफोड गरी कारबाट सडकमा निकालेर बलात्कार गरिएको थियो । त्यसपछि उनका गरगहना पनि लुटिएको थियो ।
यस घटनापछि पाकिस्तानका विभिन्न सहरमा सरकारले सुरक्षा दिन नसकेको भन्दै विरोध प्रदर्शनहरु भएका छन् ।
महिलामाथिका यस्ता हिंसाको अन्त्य गर्दै बलात्कारीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै ती विरोध प्रदर्शनहरु भएका हुन् ।
त्यस घटनामा संलग्न भएको आशंकामा लाहोर प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्