
पर्वत, भदौ ३० । लगातारको वर्षाका कारण पहिरो नरोकिँदा तीन दिनदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग मंगलबार दिउँसोदेखि सुचारु भएको छ ।
लोकमार्गतअन्तर्गत् पर्वत–बागलुङ सडकखन्डमा पर्ने पर्वतको कुस्मा नगरपालिका-१, सहस्रधारामा निरन्तर पहिरो झरेका कारण सडक अवरुद्ध बनेको थियो ।
आइतबार रातिदेखि अवरुद्ध सडक मंगलबार दिउँसो १ बजेदेखि सुचारु भएको ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिनुभयो ।
‘पहिरो नरोकिएकाले सडक खुलाउन लामो समय लागेको हो’-उहाँले भन्नुभयो-‘अझैपनि वर्षा हुनासाथ उक्त स्थानमा जोखिमपूर्ण नै रहेको छ ।’
झन्डै ५०० मिटरमाथि भिरबाट पहिरो निरन्तर झरिरहने भएकाले उक्त स्थानमा यात्रा गर्दा सावधानी अपनाउनसमेत प्रहरीले आग्रह गरेको छ ।
सडक सुचारु भएसँगै अलपत्र बनेका सवारी-साधनहरु गन्तव्यतर्फ लागेका छन् । एम्बुलेन्स, बिरामी बोेकेका साना सवारी-साधन, खाद्यान्न, निमाण सामग्रीलगायत बोकेका सवारी-साधनहरु तीन दिनदेखि अलपत्र बनेका थिए ।
अहिले नियमितरुपमा अत्यावश्यक सवारी-साधनहरु सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
केही दिनयता लगातारजसो परेको वर्षका कारण पर्वतका एक दर्जनभन्दा बढी मुख्य-मुख्य ग्रामीण सडकहरुसमेत अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्