१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जाँदा-जाँदै कुलमानले जे भने…


0
Shares

kulman appeal protestor

काठमाडौं, भदौ ३० । नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङको चारवर्षे कार्यकालको औपचारिक बिदाइ गरिएको छ ।

भदौ २९ गतेसम्म पदावधि रहेका घिसिङको पुनःनियुक्ति हुने ठूलै चर्चा र जनस्तरबाट व्यापक माग र दबाब भएपनि सरकारले पुनः जिम्मेवारी नसुम्पिएपछि उहाँको मंगलबार औपचारिक बिदाइ गरिएको हो ।

बिदाइ समारोहमा उहाँले माग र आपूर्तिबीचको सन्तुलित, वैज्ञानिक व्यवस्थापनमा र इमान्दार प्रयासले लोडसेडिङको अन्त्य गर्न सफल भएको बताउनुभयो ।

लोडसेडिङ अन्त्य गर्नुमात्र अन्तिम अभिष्ट नभएको भन्दै प्राधिकरणको चौतर्फी सुधार र जीर्ण तथा अलपत्र अवस्थामा रहेका उत्पादन, प्रसारण तथा वितरणमा समेत काम गरेको उहाँको भनाइ छ ।

आफ्नो कार्यकालमा लोडसेडिङलाई इतिहासमा विलय गराइदिएको भन्दै उहाँले चारवर्षे कार्यकालको सबैभन्दा बढी समय प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री वर्षमान पुनको नेतृत्वमा व्यतित भएको भन्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानको सारथि बन्न पाउँदा खुसी रहेको उल्लेख गर्नुभयो ।

जुन कुराले संस्थालाई हित गर्दैन, त्यो कुरामा आफूले ‘स्ट्यान्ड’ लिँदा आफूलेमात्रै ‘क्रेडिट’ लिन खोज्यो भन्नु गलत भएको पनि उहाँले बताउनुभयो ।

तरपनि चार वर्षमा नागरिक, सरकार र प्राधिकरणका सबै कर्मचारीको सहयोगले संस्थाको हितका लागि काम गर्न सकेको बताउनुभयो ।

बिदाइ कार्यक्रममा कुलमानले प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिमाथि जनचासो बढ्नु पनि उपलब्धि भएको बताउनुभयो ।

यद्यपि, एकैजना व्यक्ति सधैं प्राधिकरणको कार्यकारी रहिरहनुपर्छ भन्ने पक्षमा नरहेको पनि स्पस्ट पार्नुभयो ।

धेरै व्यक्ति वा कर्मचारीहरु प्राधिकरणलाई नेतृत्व दिनसक्ने अवस्थामा पुगेकाले भविष्यमा प्राधिकरणको साख अझ बढ्ने विश्वास कुलमानको छ ।

कुलमान २०७३ भदौ २९ मा जिम्मेवारीमा आउँदा मुलुक लोडसेडिङले आक्रान्त बनेको थियो । वर्षाको समयमा समेत छदेखि आठ घन्टाको लोडसेडिङ नेपालीले भोग्दै आएका थिए । हिउँदमा भने १८ घन्टासम्म लोडसेडिङ हुँदै आएको थियो ।

प्राधिकरण कर्मचारीलाई तलब खुवाउन पनि सरकारको मुख ताक्नुपर्ने अवस्थामा पुगेको थियो ।

नेपाली जनताले ‘उज्यालो नेपालका नायक’का उपमा दिएका कुलमानको कार्यकालमा सार्वजनिक संस्थानमध्ये दुई वर्षदेखि सबैभन्दा बढी खुद नाफा कमाउने संस्था बनेर गौरवपूर्ण इतिहास बनाउन सफल भएको छ ।

डुब्ने अवस्थामा पुगेको प्राधिकरण उहाँको जिम्मेवारी सम्हालेपछि पहिलो वर्षमै नाफामा गएको थियो ।

कुनै समय ३४ अर्ब रुपैयाँको हाराहारीमा सञ्चित नोक्सानी व्यहोरेको प्राधिकरणले आर्थिक वर्ष २०७६/७७ सम्म आइपुग्दा ११ अर्ब नाफा आर्जन गरेको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।