
काठमाडौं । भारतले नेपाल सरकारलाई कोभिड–१९ विरुद्ध लड्न २००० भाइल रेमडेसिभिर उपहारस्वरुप प्रदान गरेको छ ।
भारत सरकारको तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मंगलबार दुई हजार भाइल रेमडेसिभिर औषधी हस्तान्तरण गरेका हुन ।
कोभिड–१९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारत सरकारले नेपाललाई गरिरहेको सहयोग स्वरुप उक्त औषधी हस्तान्तरण गरिएको हो ।
यसअघि वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्विन लगायतका अत्यावश्यक औषधी, जेष्ठ ४ गते कोभिड–१९ टेष्ट कीट (आरटी–पीसीआर) र श्रावण २५ गते आइसीयू भेन्टिलेटर जस्ता स्वास्थ्य सामग्री भारतले नेपाललाई सहयोग स्वरुप प्रदान गरिसकेको छ ।
निकटतम मित्र तथा छिमेकीको हैसियतले यस महामारी विरुद्धको लडाईमा भारत नेपाल सरकार र नेपालीको साथमा रहेको छ ।
अक्सिजन थेरापीमा रहेका मध्यमदेखि गम्भीर प्रकृतिका बिरामीहरुको उपचारमा प्रयोग गरिने रेमडेसिभिर एक प्रभावकारी औषधी हो ।
चिकित्सा अध्ययनका अनुसार यो औषधीको प्रयोगले बिरामीहरुको अस्पताल बसाई अवधि र रोगबाट निको हुने समयलाई कम गर्न उल्लेखनीय रुपमा सघाउ पुर्याउँछ ।
प्रतिक्रिया दिनुहोस्