१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध


0
Shares

चितवन । धेरै स्थानमा पहिरो गएका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

आज बिहान चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलोमा पहिरो गएकाले अहिले यो सडकखण्ड अवरुद्ध भएको हो ।

पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यो सडकखण्डमा बेलाबेला पहिरो जाने समस्याका कारण यात्रु र चालकले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

नारायणगढ–मुग्लिन सडक खण्डमा एकैदिन पाँच वर्ष यताकै धेरै ठाउँमा पहिरो खसेको छ ।

सडक खण्डको जुगेडीदेखि मुग्लिनसम्म विभिन्न ठाउँमा सोमबार राति साना ठूला गरी ४८ वटा पहिरो खसेका हुन् ।

डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर शिव खनालका अनुसार २०७२ साल यता यति धेरै पहिरो एकै पटक खसेको थिएन ।

खसेका पहिरोमध्ये ७० प्रतिशतभन्दा बढी नयाँ ठाउँमा खसेका छन् । जुगेडीदेखि दासढुङ्गासम्म अहिलेसम्म पहिरो नखसेका ठाउँमा पनि यस पटक पहिरो खसेको छ ।

मनसुनमा लगातारको पानीले गलेको जमिन ठूलो पानी परेपछि लेदोसहितको पहिरो खसेको थियो ।

चारकिलो, घुमाउने, सत्र किलो र पाँचकिलोमा ठूलो पहिरो र अरु ठाउँमा साना साना पहिरो खसेका हुन् ।

यता गोरुसिङगे सन्धिखर्क सडकखण्ड अहिले एकतर्फी मात्रै सञ्चालनमा छ ।

अर्घाखाँचीको शितगंगा नगरपालिका २ भुवनपाटामा पहिरो गएकाले एकतर्फी रुपमा मात्रै गाडी चलेका हुन् ।