
काठमाडौं । बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफासहित १८ जनाको टोली आज(बुधबार) नेपाल आउँदै छ ।
सरकारले अनुमति दिएसँगै राजकुमार नासिर नेतृत्वको टोली हिमाल आरोहणका लागि आज चार्टर उडानमार्फत् काठमाडौं आउन लागेको हो । लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने राजकुमार खालिफाको तयारी छ ।
आरोहणको जिम्मा पाएको नेपाली कम्पनी सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार टोलीले चैत–वैशाखको वसन्तकालीन सिजनमै हिमाल आरोहण गर्न चाहेको थियो ।
कोरोना महामारी र नेपालमा लकडाउनका कारण अभियान पछि धकेलिएको हो । राजकुमारको टोली काठमाडौंमा केही दिन बसेपछि असोज पहिलो साता लुक्ला जानेछ ।
त्यहाँबाट पदयात्रा गर्दै खुम्बु क्षेत्रको ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आरोहण गर्ने कार्यक्रम छ ।
लोबुचे आरोहणपछि हेलिकप्टरमा यो टोली उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा फर्किनेछ ।
राजकुमारको आरोहण दलमा नेपालका ख्यातिप्राप्त हाई अल्टिच्युट गाइड खटाइनेछ ।
यो आरोहण अभियानमा करिब १ सय ५० जना शेर्पा प्रत्यक्ष संलग्न हुने सेभेन समिटले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्