
काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका–४ बखुण्डोलमा स्थानीय युवाहरुले लकडाउनको सदुपयोग गर्दै आकर्षक पार्क निर्माण गरेका छन् ।
केही महिना अघिसम्म फोहोरको थुप्रो हुने स्थानमा युवाहरुको सक्रियतामा पार्क बनेको हो ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको सदुययोग गर्दै धुलिखेल–४ बखुण्डोलका युवाहरुले धार्मिक साँस्कृतिक विशेषतासहितको आकर्षक पार्क निर्माण गरेका हुन ।
केही महिना अघिसम्म फोहोर थुप्रने ठाउँमा आकर्षक पार्क बन्ला भनेर धेरैले विश्वास गरेका थिएनन् ।
फूल रोपेपछि फोहोर फाल्दैनन् र सफा हुन्छ भन्ने सोचबाट सुरु भएको अभियान पार्क निर्माणसम्म पुगेको पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष सत्यमान लामाको भनाइ छ ।
पार्कमा भगवान वुद्धको, भगवान कृष्णको मूर्ति स्थापना गरिएको छ भने, परेवा, झरना, हिमाल, फूल बगैँचा तथा विभिन्न जनावरका प्रतिकहरु राखिएको छ ।
अहिले स्थानीय फुर्सदको समयमा यहाँ आएर छलफल गर्नुका साथै प्राकृतिक आनन्द लिने गर्दछन् ।
टाढा–टाढाबाट पनि पार्क हेर्नका लागि मानिसहरु आउने गरेका छन् । पार्क निर्माणमा युवाहरुले उत्कृट काम गरेपछि धुलिखेल नगरपालिकाले पनि सहयोग गरेको छ ।
पार्क निर्माणका लागि हालसम्म २९ लाख खर्च भएको छ । जसमा १५ लाख नगरपालिकाले दिने भएको छ भने बाँकी रकम स्थानीयले नै संकलन गरेको अध्यक्ष लामा बताउनुहुन्छ ।
धुलिखेल नगरपालिकाले हरेक वडामा फरक–फरक विशेषतासहितका पार्क बनाउने योजना बनाएको छ ।
पछिल्लो तीन वर्षमा नगरमा ३३ वटा पार्क निर्माण भएको नगरपालिकाका प्रवक्ता पुष्पराज राउत बताउनुहुन्छ ।
धुलिखेल नगरपालिकाले हरेक वडामा भौगोलिक, धार्मिक, साँस्कृतिक रितिरिवाज अनुसार बुद्ध पार्क, चिल्ड्रेन पार्क, सूर्योदय पार्कलगायतका ठाउँको पहिचान दिने पार्क स्थापना गरेको छ ।
यसले कोलाहलपूर्ण बन्दै गएको शहरीया वातावरणमा रमाउने ठाउँ बनेको छ भने प्राकृतिक, धार्मिक सम्पदाको संरक्षणमा पनि सहयोग पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्