२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताको छलफल बिहीबार, नियुक्तिको चटारो


0
Shares

politics kp oli

काठमाडौं, भदौ ३१ । सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा बिहीबार छलफल हुने भएको छ ।

प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बिहान भएको भेटवार्ताले बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको उक्त बैठक तय गरेको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

नेकपाको यही भदौ २६ गते सहमतिका साथ निर्णय भइ स्थायी कमिटीको बैठक सम्पन्नपछि अध्यक्षद्वयले अन्तरपार्टी ‘सर्कुलर’ जारी गरी सरकार र पार्टीका कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउने संकल्प गरिसक्नुभएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्षद्वयबीच नियमितजसो भेटवार्ता र छलफल हुनेक्रममा बुधबार पनि भेटवार्ता भएको जानकारी दिनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्त, निर्वाचन आयोगका केही आयुक्तसहित विभिन्न संवैधानिक आयोग तथा केही विश्वविद्यालयमा उपकुलपति र पदाधिकारी रिक्त रहेको स्थितिमा सरकार र प्रतिपक्षबीच छलफल तथा सहमतिपछि नियुक्तिको प्रक्रिया अघि बढ्ने जनाइएको छ ।